रामधुनी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।
निर्वाचनका लागि टिकट सुनिश्चित भएको चौधरीले बताइन । टिकट निश्चित भएसँगै उनले निर्वाचन क्षेत्रभित्र भेटघाट र राजनीतिक गतिविधिलाई तीव्र बनाएकी छन् ।
तत्कालीन माओवादी जनयुद्धकालदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएकी चौधरी समानुपातिक प्रतिनिधित्वमार्फत २०७४ मा प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन् । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा उनी २०७५ सालदेखि कृषि, भूमि व्यवस्थापन तथा सहकारी राज्यमन्त्री नियुक्त भई करिब २० महिना काम गरेकी थिइन ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा विभाजनपछि उनी माओवादी केन्द्रको संसदीय दलको सचेतकसमेत भएकी थिइन् । हाल उनी प्रचण्ड नेतृत्वको नेकपाको केन्द्रीय सदस्य हुन् ।
सुनसरी–२ मा अन्य राजनीतिक दलहरूले भने औपचारिक रूपमा उम्मेदवार टुंगो लगाउन बाँकी छ । नेकपा एमालेबाट कोशी प्रदेश सभा सदस्य रेवती भण्डारी उम्मेदवार बन्ने पार्टी स्रोतको दावी छ । उनी उम्मेदवार भएको खण्डमा उनले प्रदेश सभाबाट राजिनामा गर्नेछन् । त्यस्तै नेपाली कांग्रेसबाट इटहरीका राजिव ढुंगाना वा इनरुवाका राजिव कोइरालाको चर्चा छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान सांसद असोक चौधरी वा लालविक्रम थापाको चर्चा रहेको छ ।
सुनसरी क्षेत्र नं. २ अन्तर्गत देवानगन्ज गाउँपालिका, हरिनगर गाउँपालिकाको वडा नं. ३, रामधुनी नगरपालिकाका वडा नं. १, २, ३, ५, ८ र ९, इनरुवा नगरपालिकाका वडा नं. १, २, ५, ६, ९ र १०, तथा इटहरी उपमहानगरपालिकाका वडा नं. १ देखि ५ र १६ देखि २० सम्मका क्षेत्र समेटिएका छन् ।
गत निर्वाचनमा यो क्षेत्रबाट एमालेका भिम आचार्य निर्वाचित भएका थिए ।
































Discussion about this post