रामधुनी । रामधुनी नगरपालिका–९ का निर्वाचित वडाअध्यक्ष घनश्याम चौधरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । उनले पार्टी प्रवेश गरेको सार्वजनिक नगरे पनि रास्वपाको औपचारिक सदस्यता लिइसकेको तथ्य हाम्रोशब्दले फेला पारेको छ । प्राप्त विवरणअनुसार चौधरीले २०८३ जेठ ४ गते रास्वपाको सदस्यता लिएका हुन् ।

स्रोतका अनुसार सदस्यता लिनुअघि चौधरीले नेकपा सुनसरीका नेता गोविन्द निरौलासमक्ष राजीनामा बुझाएका थिए । उनले वैशाख २५ गतेकै मितिमा राजीनामा लेखे पनि जेठमा मात्रै बुझाएको नेकपा स्रोतको दाबी छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा माधव कुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट वडा अध्यक्ष निर्वाचित चौधरी, पछि माओवादी केन्द्रसँग पार्टी एकता भएपछि नेकपामै सक्रिय थिए ।
यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । तर २०७९ को निर्वाचनमा एमालेले उनलाई पुनः टिकट नदिई योगेन्द्र खड्कालाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट बनेका थिए । त्यसपछि उनले एमाले छाडेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका थिए ।
निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिनमै समाजवादी प्रवेश गरेका चौधरीले १ हजार ६७२ मतसहित सहज जित निकालेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश चौधरीले जम्मा ५८९ मत ल्याउँदा एमाले उम्मेदवार योगेन्द्र खड्का ५५० मतमै सीमित भएका थिए ।
संगठन कमजोर रहेको नयाँ दलबाट चुनाव लडे पनि चौधरीले ठूलो मतान्तरसहित जित निकाल्नुका साथै आफ्ना चार जना वडा सदस्यलाईसमेत विजयी गराएका थिए । यहि सफलताले उनको राजनीतिक महत्वाकांक्षा थप बढाएको निकटस्थहरूको भनाइ छ ।
एमालेका स्थानीय नेताहरूले उनलाई पुनः पार्टीमा फर्काउन प्रयास गरेको चर्चा पनि चलेको थियो । एमाले त्यागेर माओवादी केन्द्र पुगेका इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी र तत्कालीन एकीकृत समाजवादीका नेता तथा पूर्व संविधान सभा सदस्य धर्मराज निरौला पुनः एमालेमा फर्किएपछि घनश्याम पनि फर्किने अनुमान गरिएको थियो ।
तर, गत भाद्र २३ र २४ गतेको जेनजी बिद्रोह र पछिल्लो समय परम्परागत दलप्रति बढ्दो असन्तुष्टि, युवापुस्तामा देखिएको वैकल्पिक राजनीतिक आकर्षण तथा प्रतिनिधिसभा निर्वाचनमा पुराना दलहरूले भोगेको लज्जास्पद पराजयपछि चौधरीको राजनीतिक बाटो रास्वपातर्फ मोडिएको विश्लेषण भइरहेको छ ।
रास्वपा सुनसरीका एक नेताका अनुसार चौधरी आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा रामधुनी नगरपालिकाको मेयर पदका आकांक्षी हुन् । उनले यस विषयमा पार्टी नेतृत्वसँग अनौपचारिक छलफलसमेत गरिसकेको स्रोतको दाबी छ ।
दुई पटक वडा अध्यक्षको अनुभव, एमाले रामधुनी नगर कमिटी सचिव तथा एकीकृत समाजवादी सुनसरी जिल्ला कमिटी सहसचिवको जिम्मेवारी सम्हालिसकेका चौधरीलाई रास्वपाले रामधुनीमा सम्भावित बलियो युवा अनुहारका रूपमा हेरेको बताइन्छ । रामधुनी क्षेत्रमा थारु समुदायको उल्लेख्य बसोबास रहेको, आफ्नै वडामा लोकप्रिय मतसहित लगातार दुईपटक जित हासिल गरेको तथा युवा नेतृत्वको छवि बनाएका कारण चौधरीलाई आगामी निर्वाचनमा रास्वपाले रणनीतिक उम्मेदवारका रूपमा अघि सार्न सक्ने आकलन गरिएको छ ।
रास्वपा प्रवेश तथा आगामी राजनीतिक योजनाबारे हाम्रोशब्दको प्रश्नमा चौधरीले तत्काल कुनै प्रतिकृया भने दिन चाहेनन् ।



































Discussion about this post