सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद मनिष झाले सरकारलाई राज्य सञ्चालनको शैली सुधार गर्न आग्रह गर्दै जनप्रतिनिधि जनतासँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केही समयअघि मधेशमा देखिएको तनाव तत्कालका लागि शान्त भए पनि त्यसका कारण र सम्भावित जोखिम अझै समाप्त नभएको भन्दै सरकारलाई संवेदनशील हुन आग्रह गरे ।
उनले मधेशमा विभेदपूर्ण व्यवहार भएको महसुस हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । सीमावर्ती क्षेत्रमा सामान्य सामानसमेत कडाइका साथ नियन्त्रण गरिने तर अन्य नाकाबाट महँगा वस्तु सहज रूपमा भित्रिने अवस्थाले समान व्यवहारको प्रश्न उठाएको उनको भनाइ थियो ।
सांसद झाले सरकार जनताको भावना बुझेर अघि बढ्नुपर्नेमा जोड दिँदै जनप्रतिनिधि नागरिकबाट टाढिन हुन नहुने बताए । उनले व्यंग्यात्मक शैलीमा भने, ‘सवारी साधनको कालो सिसा हटायौं, अब कालो चस्मा पनि हटाउनुपर्छ ।’
उनले मधेश, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा निजी क्षेत्रलाई समान प्राथमिकतामा राखेर विकासको नीति अघि बढाउनुपर्ने धारणा व्यक्त गरे । देशको सन्तुलित र समावेशी विकासका लागि सबै पक्षलाई समेट्ने नीति आवश्यक रहेको उनको भनाइ थियो ।
सांसद झाले वर्तमान सरकारको नियतमाथि आफूले प्रश्न नउठाएको स्पष्ट पार्दै कार्यशैलीमा भने सुधार आवश्यक रहेको बताए । राज्य सञ्चालनका विभिन्न पक्षमा अझ प्रभावकारी र व्यवस्थित ढंग अपनाउन सके शासन प्रणालीप्रति जनविश्वास थप बलियो हुने उनको धारणा थियो ।


































Discussion about this post