रामधुनी । रामधुनी नगरपालिका–९ मा लामो समयदेखि गाउँ ब्लक जग्गा भोगचलन गर्दै आएका ९ परिवारले दोस्रो चरणमा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् ।
वडा नं. ९ का वडाध्यक्ष घनश्याम चौधरीको पहल तथा सम्बन्धित निकायसँगको समन्वयपछि साविक डुम्राहा गाविस–५ तथा हाल रामधुनी–९ अन्तर्गत पर्ने ‘५ क’ को गाउँ ब्लक जग्गाको लालपुर्जा हिजो वितरण गरिएको हो ।

दोस्रो चरणमा ९ जनाले १५ कित्ता आवासीय गाउँ ब्लक जग्गाको लालपुर्जा प्राप्त गरेका छन् । यसअघि यहि बर्ष पहिलो चरणमा २६ जनाले ३५ कित्ता जग्गाको लालपुर्जा पाइसकेका थिए ।
दोस्रो चरणमा लालपुर्जा प्राप्त गर्नेमा गीता कुमारी चौधरी, दशनी थरुनी, श्यामवती चौधरी, इन्द्रदेवी चौधरी, पुष्पा अधिकारी, रेनुका देवी चौधरी, श्रवण चौधरी, बसन्ती देवी चौधरी र सत्रुधन चौधरी छन् ।
पुस्तौँदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्व नपाएका स्थानीयले आफ्नो नाममा जग्गा दर्ता भई लालपुर्जा प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन् । उनीहरूले गाउँ ब्लक जग्गाको नापजाँच, दर्ता र लालपुर्जा वितरणका लागि पहल गरेकोमा वडा कार्यालय तथा सम्बन्धित निकायलाई धन्यवाद दिएका छन् ।
लालपुर्जा वितरण कार्यक्रममा रामधुनी नगरप्रमुख शंकरलाल चौधरीले पुस्तौँदेखिको जग्गा सम्बन्धी समस्या समाधानमा लालपुर्जा वितरण महत्वपूर्ण कदम भएको बताए ।
त्यस्तै वडाध्यक्ष चौधरीले लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वबाट वञ्चित स्थानीयलाई लालपुर्जा उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको बताए । बाँकी गाउँ ब्लक जग्गाको नापजाँच, दर्ता तथा लालपुर्जा वितरणका लागि सम्बन्धित निकायसँग समन्वय र पहललाई निरन्तरता दिने उनको भनाई छ ।
लालपुर्जा वितरण कार्यक्रममा जिल्ला प्रमुख अधिकारी इश्वरीप्रसाद अर्याल, नगरप्रमुख चौधरी, उपप्रमुख तारा थापा, वडाध्यक्ष घनश्याम चौधरी, नापी शाखा कार्यालय इनरुवाका प्रमुख सञ्जीवकुमार राउत, पूर्वनगरप्रमुख जयप्रकाश चौधरीलगायतको सहभागिता थियो ।



































Discussion about this post