रामधुनी । नेपाली कांग्रेस रामधुनीका निवर्तमान नगर सभापति सुदीप अधिकारीले सुनसरी क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बदलिँदो राजनीतिक वातावरणमा पुरानै कार्यशैली र गल्ती दोहोर्याएर नयाँ परिणाम हासिल गर्न नसकिने उल्लेख गर्दै अधिकारीले पार्टीमा नयाँ पुस्ताको सोच, आधुनिक प्रविधि र गतिशील कार्यशैलीलाई जोड्ने उद्देश्यले आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
‘आजको बदलिँदो राजनीतिक वातावरणमा पुराना गल्ती दोहोर्याएर नयाँ परिणाम हासिल गर्न सकिँदैन,’ अधिकारीले भने, ‘अग्रज नेताहरूको अमूल्य अनुभवलाई मार्गदर्शनका रूपमा लिँदै नयाँ पुस्ताको सोच, आधुनिक प्रविधि र गतिशील कार्यशैलीलाई पार्टीमा जोड्न मेरो उम्मेदवारी हो ।’
अधिकारीले आफू पार्टीभित्र अनुभव र नयाँपनबीचको दर्बिलो सेतु बन्न चाहेको बताएका छन् । क्षेत्रीय सभापतिमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै उनले नेपाली कांग्रेसका नेता–कार्यकर्ता, सुनसरी–२ अन्तर्गतका सबै वडाका सभापति तथा सम्पूर्ण क्षेत्रीय प्रतिनिधिलाई आफ्नो पक्षमा मत दिन आग्रहसमेत गरेका छन् । ‘म पार्टीभित्र अनुभव र नयाँपनबीचको दर्बिलो सेतु बन्न चाहन्छु,’ उनले भनेका छन् ।
रामधुनी नगर सभापतिको जिम्मेवारी सम्हालिसकेका अधिकारीले अब क्षेत्रीय तहको नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।



































Discussion about this post