सुनसरी । यातायात व्यवस्था कार्यालय रुपन्देहीमा कार्यरत रहँदा परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजनारायण यादवले आफ्नो बचाउ गर्दै स्पष्टीकरण दिएका छन् ।
सामाजिक संजालमार्फत यादवले आफूमाथि लगाइएको अभियोगमा सत्यता नरहेको दाबी गर्दै अनुसन्धान अधिकृतहरूको अपरिपक्व अनुसन्धानका आधारमा कपोकल्पित आरोप लगाइएको बताएका छन् । उनले अदालतबाट अन्तिम फैसला नआउँदासम्म नकारात्मक धारणा नबनाउन आग्रह गरेका छन् ।
आफ्नो स्पष्टीकरणमा यादवले सवारी चालक अनुमतिपत्र वितरणसम्बन्धी प्रक्रियामा रहेका कानुनी व्यवस्थाको सही जानकारी नराखी अनुसन्धान गरिएको दाबी गरेका छन् । जापान नगएको व्यक्तिलाई जापान गएको देखाइएको र लिखित परीक्षा दिनु नपर्ने व्यक्तिहरूको विषयमासमेत अनुसन्धानका क्रममा त्रुटि भएको उनको भनाइ छ ।
लिखित परीक्षा उत्तीर्ण गरेपछि १८ महिनासम्म तीनपटक प्रयोगात्मक परीक्षा (ट्रायल) दिन पाउने व्यवस्था रहेको उल्लेख गर्दै उनले लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिन सक्ने र पुनर्योगपछि नतिजा परिवर्तन हुन सक्ने विषयलाई अनुसन्धानमा बेवास्ता गरिएको दाबी गरेका छन् । ‘अनुसन्धान अधिकृतहरूको अपरिपक्व अनुसन्धानले कपोकल्पित अभियोग लगाइएको हो । यसमा सत्यता छैन,’ यादवले भने ।
उनले न्यायालयको अन्तिम फैसलाले नै विषयको टुंगो लगाउने भन्दै त्यसअघि आफूलाई दोषीका रूपमा नहेर्न आग्रह गरेका छन् । उनले भने, ‘न्याय मरेको छैन । अन्तिम फैसला न्यायालयले गर्छ ।’
यातायात व्यवस्था कार्यालय रुपन्देहीमा कार्यरत रहँदा परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र जारी गरिएको आरोपमा तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादव, तत्कालीन मेकानिकल सुपरभाइजर यादवप्रसाद अर्याल, तत्कालीन अधिकृत (सातौँ) तुल्सिराम अधिकारी र तत्कालीन अधिकृत (छैटाैँ) राजीव अर्यालविरुद्ध मुद्दा दायर गरेको छ। त्यस्तै, रुपन्देहीका तत्कालीन प्रहरी नायब उपरीक्षक डिल्लि नारायण पाण्डे, तत्कालीन प्रहरी निरीक्षक गणेश ज्ञवाली र तत्कालीन प्रहरी नायब निरीक्षक हुमानन्द खनाल पनि मुद्दाका प्रतिवादी छन् ।
यादव हाल रामधुनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन् । उनीमाथि लागेको अभियोगबारे अन्तिम निर्णय भने अदालतबाट हुन बाँकी छ ।



































Discussion about this post