बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाले नगरका १३ ओटा सहकारी संस्थालाई खारेज गर्ने भएको छ ।
तत्कालीन सहकारी डिभिजन कार्यालय इनरुवाबाट नगरपालिका मातहत आएका १३ ओटा सहकारी बिगत चार बर्षयता निष्क्रिय अवस्थामा रहेकाले दर्ता खारेजीको प्रकृया अगाडि बढाइने नगरपालिकाले जनाएको छ ।
मंगलबार नगरपालिकाले एक सुचना जारी गर्दै संस्थासँग लेनदेन बाँकी भएका तथा शेयर सदस्य र सरोकारवालालाई १५ दिने सूचना जारी गरेको छ ।
निष्क्रिय रहेका सहकारीलाई सम्पूर्ण आर्थिक वर्षको साधारण सभाको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र कर चुक्ताको प्रमाण पत्रसहितको विवरण पेस गर्न यसअघि नगरपालिकाले सूचना जारी गरेको भए पनि कुनै पनि प्रतिवेदन नआएपछि खारेजीको प्रक्रिया अगाडि बढाइको नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।