रामधुनी । रामधुनी नगरपालिकामा सञ्चालित एकमात्र भादगाउँ सिनुवारी बहुमुखी क्याम्पस (भासी क्याम्पस) थप सुदृढ हुँदै गएको छ । नगरपालिकाले क्याम्पसको भौतिक पूर्वाधार र शैक्षिक सुधारका लागि निरन्तर लगानी गर्दै आएको छ । यही निरन्तरतामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि क्याम्पसको बस खरिद र व्यवस्थापनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
स्थानीय तह निर्वाचन २०७९ पछि निर्वाचित जनप्रतिनिधिहरूले शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिएका छन् । नगर क्षेत्रभित्र उच्च शिक्षा अध्ययनका लागि सञ्चालनमा रहेको एक मात्रै भासी क्याम्पसलाई नगरपालिकाले विगत तीन वर्षदेखि हरेक वर्ष न्यूनतम ५० लाख रुपैयाँ बजेट दिँदै आएको छ । नगरपालिकाकाले क्याम्पसको भवन निर्माण, घेराबारा र अन्य भौतिक संरचनामा निर्माणमा उल्लेखनीय सहयोग
अध्यक्ष थापाका अनुसार बसको व्यवस्था भएपछि क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूको आवागमन सहज हुनेछ । उनले भने, ‘गाउँगाउँबाट विद्यार्थी क्याम्पसमा अध्ययन गर्न आउने भएकाले बसको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको थियो । अब बस खरिदपछि विद्यार्थीहरूको शिक्षामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।’
नगर प्रमुख शंकरलाल चौधरीका अनुसार रामधुनी नगरभित्र सञ्चालनमा रहेको एकमात्र क्याम्पसलाई मजबुत बनाउँदै लैजान नगरपालिकाले शिक्षा क्षेत्रमा लगानीलाई निरन्तरता दिएको बताए । उनले भने, ‘भासी क्याम्पस हाम्रो नगरको शैक्षिक पहिचान हो । यसलाई सुदृढ बनाउने जिम्मेवारी हामी सबैको हो । नगरपालिकाले यसको पूर्वाधार विकासदेखि शैक्षिक सुधारसम्म निरन्तर साथ दिनेछ । विगतदेखि नै दिँदै पनि आएको छ ।’
उनका अनुसार क्याम्पसलाई भौतिक पूर्वाधारको हिसाबले आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले विगतमा घेराबारा निर्माण, भवन निर्माण र अन्य आवश्यक संरचना निर्माणमा निरन्तर लगानी गरिएको हो । नगरपालिकाले आगामी दिनमा क्याम्पसलाई अझ सशक्त बनाउन आवश्यक थप पूर्वाधार विकास, नयाँ कार्यक्रम सञ्चालन र गुणस्तरीय शिक्षाको पहुँच विस्तारमा निरन्तर सहयोग गर्ने जनाएको छ । नगर प्रमुख चौधरी भन्छन्, ‘शिक्षा क्षेत्रको मजबुती नै समृद्धि र विकासको आधार हो । भासी क्याम्पसको मजबुती हाम्रो प्राथमिकतामा छ । म नगर प्रमुख भएसम्म भासी क्याम्पसलाई कम्तिमा बार्षिक ५० लाख बजेट दिँने योजनामा छु ।’
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post