- सुबिन विश्वकर्मा
बराहक्षेत्र । ‘हरेक क्याम्पसभित्र केहि नभनिएका र नसुनिएका तर सधैँ गुपचुप हुने घट्नाहरु हुने गर्छन्, त्यो हो महिला हिंसा ।’ सहदेव काफ्ले भन्दै थिए, ‘कलेजको आधी भन्दा बढी हिस्साले आफूलाई सुरक्षित महसुस नै गर्दैन भने त्यो उत्कृष्ट शैक्षिक वातावरण कहिलिदैन, त्यसैले हामी महिलामैत्री शैक्षिक वातावरण मात्र नभएर महिलाकै नेतृत्वको पक्षमा उभिनेछौ ।’ सहदेव जनता बहुमुखी क्याम्पस, इटहरीका स्वतन्त्र विधार्थी युनियन (स्ववियु) सभापति उमेदवार हुन् ।
आसन्न चैत ५ गते हुने चुनावका लागि जनता बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेबिसंघ) र समाजवादी विधार्थी युनियन (सवियु) बीचमा चुनावी तालमेल भएको छ । क्याम्पसका नेबिसंघ इकाई अध्यक्ष समेत रहेका सहदेव सोही प्यानलमा साझा उमेदवार हुन् ।
मुलतः नेबिसंघको एक सफल नेताको रूपमा उनले छवि बनाएका छन् । त्यति मात्र होइन, नेपाली कांग्रेस पार्टीको समेत विभिन्न तह र ओहोदामा बसेर काम गरिसकेको अनुभव सहदेवमा छ । नेपाली कांग्रेस तत्कालीन भरौल गाविस सहसचिवको रूपमा काम गरिसकेका छन् । यद्यपि नेबिसंघ नेताका रूपमा उनको छुट्टै पहिचान रहेको र उनी आफुलाई नेबिसंघकै सिपाहीको रूपमा आफूलाई परिचित गराउन चाहन्छन् । २०७४ सालदेखी आजसम्म जनता बहुमुखी क्याम्पसको नेबिसंघ अध्यक्ष भएर कार्य गरिसकेका सहदेवलाई क्याम्पसको आवश्यकता र योजनाबारे जानकारी रहेको उनको जिकिर छ । उनी भन्छन्, ’नेबिसंघ क्याम्पस इकाई अध्यक्ष हुँदैगर्दा क्याम्पसको एक सारथि भएर काम गरेको छु, त्यसैले पनि यहाँका ससाना समस्याहरुसँग परिचित छु ।’
उसो त उनका प्रतिद्वन्दी पनि उस्तै सबल रहेको विद्यार्थीहरुको तर्क छ । सहदेवको प्यानलसँग अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) र अनेरास्ववियु (क्रान्तिकारी) बिचको तालमेलबाट साझा उमेदवार बनेका अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष उज्वल सिग्देल चुनावी मैदानमा छन् । यद्यपि आफू भने चुनाव जित्नेमा विश्वस्त रहेको सहदेवको तर्क छ ।
तपाईंले चुनाव जित्नुहुन्छ भन्नेमा कसरी विश्वास गर्न सकिएला र ? हाम्रो प्रश्नमा सहदेवको जवाफ छ, ’पहिलो कुरा हाम्रो मुद्दा र क्याम्पस सुधारका लागि उठाएका एजेन्डा उत्कृष्ट भएकाले विधार्थीहरुले हामीलाई मतदान गर्नुहुनेछ ।’ उनी थप्छन्, ’दोस्रो कुरा, आज तपाईं हेर्न सक्नुहुन्छ– हरेक विधार्थीको बोलीमा सहदेव काफ्लेको नाम छ, किनकि मैले यत्तिका समय उहाँहरुसँग रहेर काम गरेको छु ।’ यद्यपि बिगतमा विद्यार्थीका मुद्दाहरुमा आवाज बुलन्द नगरेको सहदेवमाथी आरोप छ । यसको खण्डन गर्दै उनले भने, ’नेबिसंघले र व्यक्तिगत रूपमा सहदेव काफ्लेले जायज र विद्यार्थीका लागि आवश्यक मुद्दामा मात्र बोल्ने गरेको छ र सदैब बोलिरहन्छ ।’
सानैदेखि प्रष्ट वाककलाको क्षमता भएका सहदेवको मूख्य विषेशता भनेकै उनको बोली हो । प्रष्ट वक्ताको छवि बनाएका सहदेव अध्ययनशील पनि छन् । उनी नेतृत्वदायी भूमिकामा रहेर सबैलाई समेट्दै अगाडी बढ्न खप्पिस छन् ।
त्यसैले पनि हुनुपर्छ, जनता क्याम्पसको गुणस्तर सुधारमा उनको योजना र लगाव बसेको छ । भौतिक रूपमा सबल र सक्षम रहेको जनता क्याम्पसमा पढ्ने वातावरण निर्माण गर्नु नै मूख्य आवश्यकता रहेको सहदेवको बुझाइ छ । विद्यार्थी राजनीतिज्ञहरुबाट विगतमा क्याम्पसमा ताला लगाउने जस्ता गलत अभ्यास भएकाले पठनपाठनमा प्रभाव परेको हुँदा आगामी दिनमा त्यसलाई नदोहो¥याउने सहदेवको प्रतिबद्धता छ ।
आफूहरूको योजना अन्तर्गत क्याम्पसमा उत्कृष्ट पुस्तकालय निर्माण गर्ने, प्रविधिलाई साथी बनाउने, विद्यार्थीको हाजिरी सिस्टम, अत्याधुनिक कम्प्युटर ल्याब, इ–लाइब्रेरी र फ्री वाईफाईसम्मका मुद्दामा जनता क्याम्पस अगि हुने बताउँछन् । त्यस्तै, विद्यार्थी भर्ना वा परीक्षा फारम भर्दा लाइन बस्ने झन्झटबाट मुक्ति दिलाउन प्रविधिको प्रभावकारी प्रयोग सहदेवको प्राथमिकताको विषय हुनेछ । उनले भनेका छन्, ‘पढ्दै–कमाउँदै’ कार्यक्रम अन्तरगत गरिब विद्यार्थीको पहिचान गरी रुचि अनुसारको निःशुल्क सीपको व्यवस्था गरिने र सोही अनुसार रोजगारीको लागि पहल गर्ने मेरो टिमको प्रतिबद्धता छ, त्यससँगै वरिष्ठ साहित्यकार, कलाकार, अर्थशास्त्री, र विज्ञलाई गेष्ट लेक्चरको रूपमा उपस्थिति गराउने मेरो सङ्कल्प छ ।’ आफ्नो जीतमा विश्वस्त रहेका सहदेवले ठट्यौली शैलीमा भने, ’म विधार्थी हकहितका योजना लिएर आएको छु, विधार्थीहरु हामीलाई मतदान गर्न पर्खेर बसिरहनुभएको छ ।’
५ हजार ७ सय ७८ विधार्थी मतदाता रहेको जनता क्याम्पस क्युएए सर्टिफाइड क्याम्पस पनि हो । मुख्य दुई शक्तीबिचमा प्रतिस्पर्धा हुने देखिएको स्ववियु निर्वाचनमा नेबिसंघ–सवियुको तालमेलबाट सभापतिमा सहदेवसहित सचिवमा अर्जुन राई, कोषाध्यक्ष बिपिन भट्टराई र सदस्यहरुमा केवल लुइँटेल, शुशान्त पुरी, सुगम भुजेल, लक्ष्मण लिम्बू, मार्शल बस्नेत, एलिना चौधरी, सुदिप खतिवडा र नवीन तामाङ उमेदवार बनेका छन् ।
































Discussion about this post