रामधुनी । नेवारी समुदायको मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजित जिल्लास्तरीय लाखे नाँच प्रतियोगितामा संस्कृति उत्थान मंच धरानले उत्कृष्ट प्रस्तुति दिंदै पहिलो स्थान हात पार्न सफल भएको छ ।
शनिबार नेवाः देय् दब्बू, सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न प्रतियोगितामा धरानको यो टोलीले सबै पक्षमा उच्च स्तर देखाउँदै निर्णायकको मन जितेको हो । पहिलो हुने समूहलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा सुनसरी जिल्लाभरिका विभिन्न नगरबाट १४ वटा लाखे समूह सहभागी भएका थिए । नेवाः पुच चक्रघट्टीले दोस्रो स्थान प्राप्त गर्दै २० हजार रुपैयाँ, जाल्पा लाखे धरानले तेस्रो स्थान प्राप्त गर्दै १५ हजार र नेवाः पुच इटहरीले सान्त्वना पुरस्कार स्वरूप ७ हजार रुपैयाँ प्राप्त गरे।
कार्यक्रममा कुमारी नाँच, नेवारी नाँच लगायतका विविध मौलिक सांस्कृतिक प्रस्तुतिहरूले माहोल झनै रंगीन बनाएको थियो । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य यसोदा कायस्थ, रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापालगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।
नेवाः देय् दब्बू सुनसरीका अध्यक्ष केदार कुमार श्रेष्ठले यस्ता प्रतियोगिताले नेवारी संस्कृति प्रति युवापुस्तामा गर्व र संरक्षणको भावना पैदा गर्ने विश्वास व्यक्त गरे ।



































Discussion about this post