रामधुनी । रामधुनी नगरपालिका–१ झुम्काको मासु बजार नजिकै आधुनिक सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गरिएको छ । २२ लाख ४ हजार रुपैँया लागतमा तयार गरिएको उक्त शौचालयको सोमबार नगर प्रमुख शंकरलाल चौधरीले उद्घाटन गरेका छन् ।
झुम्का शहरी खानेपानी तथा सरसफाई योजनाद्वारा निर्मित शौचालय ५० वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको छ । शौचालय भवनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै दुई ओटा कम्पार्टमेन्ट बनाइएको छ । प्रत्येक कम्पार्टमेन्टमा सर्वसाधारण प्रयोगकर्तासहित अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै सुविधा छ भने नुहाउँनसमेत मिल्ने व्यवस्था गरिएको छ ।
स्वच्छता र वातावरणीय हिसावले शौचालयमा १७ घनमिटर क्षमताको सेफ्टीट्यांकी र सोख्ता प्रणाली पनि निर्माण गरिएको छ । शौचालयका लागि दुईकोठे पक्की भवन निर्माण गरिएको छ । जसमा एक हजार लिटर क्षमताको पानी ट्यांकीसमेत राखिएको छ ।
शौचालयमा एशियाली विकास बैंकको ७० प्रतिशत अर्थात् १५ लाख ४२ हजार ९ सय ४८ रुपैयाँ, नगर विकास कोषबाट २५ प्रतिशत अर्थात् ५ लाख ५१ हजार ५३ रुपैयाँ, रामधुनी नगरपालिकाबाट ३ प्रतिशत अर्थात ६६ हजार १ सय २६ रुपैयाँ र उपभोक्ता समितिबाट २ प्रतिशत अर्थात ४४ हजार ८४ रुपैयाँ लागत साझेदारीमा सम्पन्न भएको झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिका अध्यक्ष केशिलाल चौधरीले जानकारी दिए ।
शौचालय निर्माणले झुम्का बजार आधुनिक र व्यवस्थित बन्दै गएको पुष्टि भएको नगर प्रमुख चौधरीले बताए । ‘सार्वजनिक स्थानमा सबै वर्गका मानिसहरूले सहज र मर्यादित ढंगले प्रयोग गर्न सक्ने शौचालयको आवश्यकता थियो । यस्तो पूर्वाधारले बजारलाई स्वच्छ र व्यवस्थित बनाउन सहयोग पु¥याउँछ,’ नगर प्रमुख चौधरीले भने, ‘यसले झुम्का बजार आधुनिक र व्यवस्थित बन्दै गएको पुष्टि भएको छ ।’






























Discussion about this post