रामधुनी । सुनसरी जिल्लाको हरियाली जंगलको काखमा लुकेको, ऐतिहासिक र आस्थाले ओतप्रोत स्थल हो—रामधुनी मन्दिर । जनविश्वास अनुसार त्रेतायुगमा वनवासकालीन यात्राका क्रममा भगवान राम एक रात यही स्थानमा बसेका थिए । उनले बालेको धुनीको आगो आजसम्म बलिरहेको जनश्रुति छ, जुन धुनीको खरानीलाई आज पनि भक्तजनहरूले प्रसादको रूपमा निँधारमा लाउँने गर्छन् ।
रामधुनी मन्दिरको संरक्षण र विकासका लागि रामधुनी नगरपालिकाले पछिल्ला वर्षहरूमा निरन्तर पहल गर्दै आएको छ । प्रत्येक वर्षको बजेट र नीतिमा यो मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्य राखिँदै आएको छ । चालु आर्थिक वर्षमा मन्दिर परिसरमा १०८ धाराको निर्माण अन्तिम चरणमा पुगेको छ । साथसाथै जनकपुरको विवाह मण्डपको डिजाइनमा आधारित रहेर यहाँ पनि एक आकर्षक मण्डप निर्माण भइरहेको छ, जसबाट भविष्यमा विवाह संस्कारका लागि विशेष गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
मन्दिर क्षेत्रको विस्तृत योजना (डिपीआर) तयार भइसकेको छ र त्यस अनुसार हरेक वर्ष संरचनात्मक विकास भइरहेको छ । आउँदो आर्थिक वर्षमा थप दुई करोड रुपैयाँ बराबरको योजना अन्तर्गत व्यवस्थित पार्किङ र गौशाला निर्माण गरिने तयारी छ । यसका लागि संघीय सरकारबाट एक करोडको अनुदान स्वीकृत भइसकेको छ भने नगरपालिकाले थप एक करोड विनियोजन गर्नेछ ।
रामधुनी मन्दिरलाई भारतीय पर्यटकहरूसमेत आकर्षित गर्ने धार्मिक केन्द्रका रूपमा लिइन्छ । विशेष गरी बिहार राज्यबाट यहाँ उल्लेख्य संख्यामा भक्तजन आउँछन् । रामनवमी, बालाचतुर्दशी, विवाहपञ्चमी जस्ता पर्वहरूमा यहाँ ठूलो भीड लाग्ने गर्छ । साथै कोशीटप्पु वन्यजन्तु आरक्ष जस्ता नजिकका पर्यटकीय गन्तव्यसँगको भौगोलिक नजिकताले यो मन्दिरलाई धार्मिक मात्र होइन, पारिवारिक घुमघामका लागिसमेत उपयुक्त बनाएको छ ।
मन्दिरमा अझै पनि त्रेतायुगसँग जोडिएका धार्मिक प्रतीकहरू सुरक्षित छन् – जस्तै भगवान रामले प्रयोग गरेको भनिने रथको पाङ्ग्रा, खराउ, चिम्टा र अन्य सामग्रीहरू । यहाँ रहेको ‘धुनि’ सधैँ बलिरहन्छ, र मन्दिरभित्र रहेको मूढो (साजको टुप्पो) निरन्तर सल्काइन्छ, जसलाई देवप्रसादका रूपमा मानिन्छ ।
रामधुनी क्षेत्र पुरातात्त्विक किम्बदन्तीहरूले भरिएको छ । जनश्रुतिमा भनिए अनुसार वनखण्डी बाबाले यहाँको सखुवाको रुखमा चिम्टा रोपेर आँप फलाएका थिए ।
रामधुनी मन्दिर क्षेत्र भित्रै ठूलो पोखरी छ, जसको पानी कहिल्यै सुक्दैन भनिन्छ । घेराबार गरिएको, फलैंचासहितको परिसर, पछाडिपट्टिको शान्त जंगल र भक्तिभावले भरिएको वातावरणले यहाँ आउने जो–कोहीलाई अध्यात्मिक ऊर्जा प्रदान गर्छ ।
रामधुनीलाई चतराका औलियाबाबा, पिण्डेश्वरका अखण्ड ज्योति र धरानका शिव मन्दिरहरूसँग धार्मिक सम्बन्ध रहेको मानिन्छ । भनिन्छ, यदि यहाँको धुनी निभेमा धरानको पिण्डेश्वरबाट मूढा ल्याएर सल्काइन्छ र त्यसको उल्टो पनि हुन्छ । यसरी हेर्दा, पूर्वका विभिन्न धार्मिक केन्द्रहरूबीच आपसी सांस्कृतिक र आस्थाको सञ्जाल रहँदै आएको पाइन्छ ।
यति मात्र नभई, रामधुनी मन्दिर क्षेत्रलाई बहुआयामिक पर्यटकीय गन्तव्य बनाउने सम्भावना प्रशस्त छ । फिसिङ्ग, जंगल सफारी, नौका सयर, जलक्रीडा, बर्ड वाचिङ्ग लगायतका गतिविधिका लागि उपयुक्त वातावरणले यस क्षेत्रलाई धार्मिक पर्यटनसँगै प्राकृतिक पर्यटनको केन्द्र बनाउन सक्ने क्षमता देखिएको छ । कोशी नदीको किनारमा रहेको, हजार विघा क्षेत्रफलमा फैलिएको यो रमणीय स्थल पूर्वको शान्त, पवित्र र आकर्षक धरोहरको परिचायक हो ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post