रामधुनी । भ्रष्टाचार भुद्दामा रामधुनी नगरपालिकाकी पूर्व उपमेयर सबिना कुमारी चौधरीसहित ९ जनालाई बिशेष अदालतले सफाई दिएको छ ।
आज विशेष अदालतले पूर्व उपमेयर चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देबेन्द्र चौधरी, सव–इन्जिनियर हर्षलाल चौधरी, वडा नं. ३ का पूर्व वडा अध्यक्ष राजकुमार चौधरी, तत्कालीन कार्यपालिका सदस्य टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका कर्मचारी सुनीलकुमार चौधरीविरुद्धको भ्रष्टाचार मुद्दामा सफाई दिएको हो ।
न्यायाधीशहरु खुशी प्रसाद थारु, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मुद्दाको अन्तिम सुनुवाई गर्दै ९ जनालाई नै सफाई दिएको प्रतिबादीतर्फका अधिवक्ता रामराज चौधरीले हाम्रोशब्दलाई जानकारी दिए ।
उनीहरूले रामुधनी–३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक कालोपत्रे गर्दा वास्तविक कामभन्दा बढी भुक्तानी गरेको आरोप थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत प्राविधिक प्रतिवेदनसमेत तयार गरी झुट्टा बिल, नापी किताव तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी २ लाख १२ हजारभन्दा बढी भुक्तानी गरेर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको आरोपमा कैद एवं जरिवानाको माग गर्दै उनीहरुमाथि मंसिर ११ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
त्यस्तै, अख्तियारले जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत) ले वास्तविकभन्दा बढी काम गरेको देखाएर भुक्तानी लिएको भन्दै उनीमाथिसमेत बढी भुक्तानी लिएको रकम बिगो कायम गरी बिगोसमेत जफत गर्नुपर्ने मागदाबी गरेको थियो ।
अदालतले सबैलाई सफाई दिएको भए पनि पूर्णपाठ आएपछि मात्रै फैसलाबारे बिस्तृत विवरण थाहा हुने अधिवक्ता चौधरीले बताए ।