रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ८ मा विपन्न परिवारका लागि ४४ ओटा शौचालय निर्माण गरिएको छ । नगरपालिका, वडा कार्यालय, सेभ द अर्थ र इटिसी नेपाल संस्थाको सहकार्यमा शौचालय निर्माणको काम भएको हो ।
वडाको ठूले मोहर तल्लो उराव टोल, वानडाँडा, डुम्राहा पोखरी डिल लगायतका उराव, मोची, चौधरी, परियार समुदायका विपन्न घरपरिवारका लागि शौचालय निर्माण गरिएको रामधुनी—८ का कर्मचारी महेश रेग्मीले जानकारी दिए ।
शौचालय नहुँदा विपन्नलाई दैनिक जीवनमा समस्या हुने गरेकाले सार्वजनिक स्वास्थ्य र स्वच्छतामा जोड दिंदै शौचालय निर्माण गरिएको वडा अध्यक्ष सुरेन्द्र सिंह खवासले जानकारी दिए । उनले भने, ‘ शौचालय निर्माणले स्थानीयको जीवनस्तर सुधारमा प्रत्यक्ष सकारात्मक असर गर्नेछ । विपन्न परिवारमा अझै पनि शौचालयको अभाव थियो । स्वास्थ्य र मर्यादित जीवनका लागि शौचालय अपरिहार्य भएकाले हामीले यसलाई उच्च प्राथमिकतामा राख्यौं ।’

वडा कार्यालयका अनुसार आगामी दिनमा शौचालय नभएका अन्य परिवारका लागि पनि थप कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ । यस अभियानले खुला दिसामुक्त घोषणालाई व्यवहारमा उतार्नसमेत सहयोग गर्नेछ । शौचालय निर्माणले स्वच्छ तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको वडा अध्यक्ष खवासले बताए ।
नगर उपप्रमुख तारा थापाले यो कार्यक्रमलाई महत्वपूर्ण उपलब्धि भएको बताइन । उनले भनिन्, ‘नगरपालिका, वडा र संस्थाहरूको सहकार्य उदाहरणीय बनेको छ । यसले विपन्नलाई ठूलो राहत पुगेको छ ।’
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

































Discussion about this post