रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर २ मा विपन्न परिवारका लागि २६ ओटा शौचालय निर्माण गरिएको छ ।
विगतमा आधारभूत पूर्वाधारको अभाव, गरिबी र अशिक्षाका कारण खुला दिसा गर्न बाध्य विपन्न तथा दलित बस्तीमा अहिले परिदृश्य बदलिँदो छ । रामधुनी—२ स्थित विचला टोल र धमौरी टोलमा गरेर २६ ओटा शौचालय निर्माण गरिएको वडा अध्यक्ष राम नारायण चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीका अनुसार विपन्न मुसहर र थारु समुदायलाई शौचालय निर्माणमा समेटिएको छ ।
शौचालय निर्माण कार्य रामधुनी नगरपालिका, वडा कार्यालय, सेभ द अर्थ र इटिसी नेपालको सहकार्यमा भएको हो । यो अभियानले दलित समुदायको जीवनस्तर सुधार गर्न, स्वास्थ्यमा सुधार ल्याउन र सरसफाइको प्रवर्धन गर्न उल्लेखनीय योगदान पु¥याएको छ ।
नगर उपप्रमुख तारा थापाले यो कार्यक्रमलाई नगरपालिकाको सामाजिक न्याय र समावेशी विकासको उदाहरणीय प्रयास भएको बताइन । विपन्न दलितको जिवनस्तर माथि उकास्न सबै जिम्मेवार भएर लाग्नुपर्ने उपप्रमुख थापाले बताइन । उनले भनिन्, ‘विपन्न तथा दलित समुदायलाई शौचालय निर्माण गर्ने कामलाई तिब्रता दिइएको छ । यो हाम्रो जिम्मेवारी पनि हो । विपन्न दलितको जिवनस्तर माथि उकास्ने कुरामा सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता छ ।’
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

































Discussion about this post