रामधुनी । माटोको गुणस्तर सुधारका लागि रामधुनी नगरपालिकाले विगत दुई वर्षदेखि निरन्तर कृषकलाई कृषि चुन वितरण गर्दै आएको छ । किसानलाई माटो सुधारमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले ७५ प्रतिशत अनुदानमा हरेक वर्ष कृषि चुन वितरण गरिरहेको छ ।
कृषि विकास शाखाका प्रमुख तुलसीराम चौधरीका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा ५ लाख रुपैयाँ बजेटबाट कृषि चुन वितरण गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ४ लाख रुपैयाँको बजेटबाट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्ष २०८२/०८३ मा यो कार्यक्रमलाई अझ विस्तार गर्दै ७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए ।
उनका अनुसार नगरभित्र कतिपय जमिन अम्लियुक्त भएकाले उत्पादनमा कमी आइरहेको छ । किसानको उत्पादन क्षमता वृद्धि गर्न माटो सुधारको अभियानलाई प्राथमिकतामा राखिएको हो । उनले भने, ‘माटो राम्रो नहुँदासम्म उत्पादन राम्रो हुँदैन । त्यसैले माटोको गुणस्तर सुधार गर्न हामी चुन वितरणलाई निरन्तरता दिएका छौं ।’ नगरपालिकाले माटो परीक्षण, सुधार र वैज्ञानिक तरिकाले कृषि प्रणालीलाई अगाडि बढाउन किसानलाई निरन्तर प्राविधिक सहयोग दिँदै आएको छ । यस कार्यक्रमले कृषकहरूलाई माटोको स्वास्थ्यप्रति सचेत बनाउनुका साथै उत्पादन वृद्धि गर्न उल्लेख्य भूमिका खेलेको छ ।
रामधुनी नगरपालिकाको झुम्कामा रहेको प्रदेशस्तरीय माटो तथा मल परीक्षण प्रयोगशालाको विभिन्न बार्षिक प्रगति प्रतिबेदनहरुले कोशी प्रदेशकै माटोमा अत्यधिक अम्लियपन पुष्टि गर्दै आएको छ । माटोको उर्वराशक्तिमा ह्रास आउँने गरि कोशी प्रदेशको ८६ प्रतिशतसम्म माटोमा अम्लियपन भएको पाइएको हो । कार्यालयले आर्थिक बर्ष २०८०/०८१ मा ४ हजार २ सय ४१ माटोको नमुना परिक्षण गरेकोमा ८६ प्रतिशतमा अम्लियपन भेटिएको हो । त्यस्तै १ प्रतिशत माटोमा क्षारियपन भेटिएको छ भने तटष्ठ माटो १३ प्रतिशत रहेको प्रतिबेदनमा उल्लेख छ ।
त्यस्तै, आर्थिक बर्ष २०७९/०८० मा पनि माटोमा अम्लियपन ८५ प्रतिशत भएको पाइएको छ । कार्यालयले उक्त आर्थिक बर्षमा १ हजार २ सय ६५ माटोको नमुना परिक्षण गरेकोमा ८५ प्रतिशत अम्लियपन भेटिएको हो । माटोको उर्वराशक्ति र उत्पादनमा दिर्घकालीन असर पर्ने गरि रासायनिक मलको असन्तुलित प्रयोग, माटो परिक्षणविनै हाइबे्रेट बाली लगाउँने प्रचलन लगायत कारण अम्लियपन धेरै भएको कार्यालयका सुचना अधिकारी राजेन्द्र प्रसाद यादव बताउँछन् ।
त्यस्तै, कार्यालयले तयार पारेको आर्थिक बर्ष २०७८/०७९ को प्रतिबेदनमा माटोको अल्मियपन ८४ प्रतिशत भएको पाइएको छ । उक्त आर्थिक बर्ष प्रयोगशालाले २ हजार ४ सय ४५ माटोको नमुना परिक्षण गरेको थियो । जसमा क्षारिय माटो ५ प्रतिशत र तटष्ठ माटो ११ प्रतिशत पाइएको छ । बर्षेनी एउटै रेसियोमा माटोमा अत्यधिक अम्लियपन देखिनु चिन्ताको बिषय भएको कार्यालय प्रमुखसमेत रहेका माटो विज्ञ दिगम्बर यादवले बताए । उनले भने, ‘लगातार करिब ८५ प्रतिशतको हाराहारीमा अम्लियपनको जुन तथ्यांक आइरहेको छ, यो चिन्ताको बिषय हो । यसले हाम्रो माटोको उर्वराशक्ति घटिरहेको देखाउँछ ।’
विज्ञहरुका अनुसार माटोमा अम्लीयपन मुख्य चुनौतीका रुपमा देखिएको छ । साधारणतया ६.५ देखि ७.५ पिएचमान भएको माटोलाई तटस्थ माटो भनिन्छ । ६.५ भन्दा कम पिएचमान भएको माटोलाई अम्लिय माटो भन्ने गरिन्छ भने ७.५ भन्दा बढी पिएचमान भएको माटोलाई क्षारिय माटो भनिन्छ । अम्लिय माटो सुधारका लागि कृषि चुनको प्रयोग गर्नु उपयुक्त हुने र अम्लिय तथा क्षारिय दुबै माटोमा प्रशस्त प्रांगारिक मल प्रयोग गर्न सके माटो सुधारमा समस्या नहुने माटो विज्ञहरु बताउँछन् ।
विभिन्न कृषकहरुले परिक्षण गरेका रिपोर्टहरु र कृषि ज्ञान केन्द्रले गरेको परिक्षणलाई हेर्दा रामधुनीमा पनि २ नम्बर वडाको कालिझोडा लगायत क्षेत्रमा अत्यधिक अम्लीयपन पाइएको कृषि बिकास शाखाको भनाई छ । यसरी अम्लीयपन भएको माटोलाई स्वस्थ बनाउँनका लागि कृषि चुन अनुदानमा दिने गरिएको शाखा प्रमुख चौधरीले बताए ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post