रामधुनी । कृषकलाई आधुनिक कृषि यन्त्रको पहुँच बढाउँदै सामूहिक खेतीतर्फ प्रोत्साहन गर्न रामधुनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा वडा नम्बर ९ स्थित डुम्राहा कृषक समूहलाई खेतीको ४ ओटा पावर टिलर सहयोग गरेको छ ।
यो समूहमार्फत सामूहिक रुपमा व्यावसायिक खेती हुँदै आएको छ । पावर टिलर उपलब्ध भएपछि खेत जोत्नेदेखि काम सहज र छिटो हुने अपेक्षा गरिएको छ । नगरपालिकाको कृषि विकास शाखामार्फत प्रदान गरिएको यो सहयोगले स्थानीय उत्पादन वृद्धि, लागत घटाउने र युवा कृषकलाई आधुनिक कृषि पद्धतितर्फ आकर्षित गर्न महत्वपूर्ण टेवा पुर्याउँने विश्वास गरिएको छ ।
नगर प्रमुख शंकरलाल चौधरीका अनुसार कृषकलाई प्रविधिसँग जोडनेतर्फ नगरपालिका अघि बढेको छ । उनले भने, ‘हामी कृषकलाई प्रविधिसँग जोडनेतर्फ अघि बढेका छौँ । यसले कृषिमा व्यावसायिकता बढाउने र कृषकको आम्दानी पनि वृद्धि गराउने लक्ष्य राखिएको छ ।’
नगरपालिकाले आगामी दिनमा थप कृषक समूहलाई यन्त्र उपकरण वितरण गर्दै आधुनिक कृषि प्रणालीलाई प्रवद्र्धन गर्ने जनाएको छ । आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा नगरपालिकाले कृषिलाई थप प्राथमिकता दिएको उपप्रमुख तारा थापाले बताइन ।
त्यस्तै, माटोको गुणस्तर सुधारका लागि नगरपालिकाले विगत दुई वर्षदेखि निरन्तर कृषकलाई कृषि चुन वितरण गर्दै आएको छ । किसानलाई माटो सुधारमा सहयोग पुर्याउँने उद्देश्यले नगरपालिकाले ७५ प्रतिशत अनुदानमा हरेक वर्ष कृषि चुन वितरण गरिरहेको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post