रामधुनी । महिला सशक्तीकरण र स्वरोजगारको प्रवद्र्धनमा अग्रसर रहँदै रामधुनी नगरपालिकाले वडा नं. ४ का महिलाहरुलाई लक्षित गरी दुना–टपरी उत्पादनसम्बन्धी तालिम सञ्चालन गर्नुका साथै त्यसका लागि आवश्यक मेसिनसमेत उपलब्ध गराएको छ ।
सिक्दार माझी टोल बन उपभोक्ता समितिको संयोजनमा सञ्चालन हुने गरी ३ लाख रुपैयाँभन्दा बढी मूल्यको मेसिन सहयोग गरिएको वडा अध्यक्ष कमल कार्कीले जानकारी दिए । उनका अनुसार महिलाहरुले सिकेको सीपलाई आम्दानीमा रुपान्तरण गर्न सकून् भन्ने उद्देश्यले तालिमसँगै उपकरणसमेत हस्तान्तरण गरिएको हो ।
नगरपालिकाको कुल ४ लाख रुपैयाँको बजेटमा तालिम, मेसिन खरिद र कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा सहभागी महिलाहरूलाई दुना–टपरी बनाउने सिप, गुणस्तर सुधार, बजार व्यवस्थापन लगायतका विषयमा व्यावसायिक ज्ञान प्रदान गरिएको थियो ।
नगर उपप्रमुख तारा थापाले यस कार्यक्रमलाई महिला आत्मनिर्भरताको महत्वपूर्ण पाइलाका रूपमा व्याख्या गरिन् । उनले भनिन्, ‘महिलालाई सीप मात्र होइन, त्यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक सामग्री र अवसर पनि दिनुपर्छ भन्ने मान्यताका साथ कार्यक्रम ल्याइएको हो । महिला आर्थिक रूपमा सक्षम नभइ समावेशी विकास सम्भव छैन ।’
उनका अनुसार आगामी दिनमा अन्य वडाका महिलाहरुलाई पनि यस्तै स्वरोजगारमुखी तालिम सञ्चालन गरिनेछ । स्थानीय महिलाहरूले दुना–टपरीको उत्पादनलाई अब समूहमार्फत स्थायी आम्दानीको स्रोत बनाउने योजना बनाएका छन् । स्थानीय स्रोतमा आधारित, वातावरणमैत्री र बजारमैत्री उत्पादनमा आधारित यस्तो कार्यक्रमले रामधुनीमा महिला उद्यमशिलताको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

































Discussion about this post