रामधुनी । रामधुनी नगरपालिका–९ स्थित धुराहा खेलमैदानमा निर्माणाधीन स्टेडियमको छत र प्याराफिटमा गुणस्तरहीन काम भएको पुष्टि भएपछि ती संरचना भत्काएर कार्तिक मसान्तसम्म पुनर्निर्माण गर्ने निर्णय गरिएको छ ।
बिहीबार बिहान कार्यवाहक नगरप्रमुख तारा थापाको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले ‘छत (स्ल्याब) र प्याराफिटको ढलान कार्य स्वीकार गर्न नसकिने’ ठहर गर्दै सम्पूर्ण संरचना भत्काएर तोकिएको समयसीमा भित्र पुनर्निर्माण गर्न ठेकदारलाई निर्देशन दिएको हो । नगरप्रमुख शंकरलाल चौधरी विदेश यात्रामा रहेकाले कार्यवाहक जिम्मेवारी थापाले सम्हालिरहेकी छन् ।
स्टेडियममा गुणस्तरहीन काम भएको भन्दै विगत एक महिनादेखि आलोचना र विवाद चल्दै आएको थियो । बिहीबारको कार्यपालिकाको निर्णयसँगै सो विषय प्रशासनिक रूपमा टुंगो लागेको छ । निर्माण व्यवसायीले नै संरचना भत्काएर पुनर्निर्माण गर्नु पर्नेछ । नगरपालिकाले यसका लागि कार्तिक मसान्तसम्मको समय दिएको छ ।
स्टेडियममा प्राविधिक मापदण्डविपरीत ढलान ‘सेट’ हुन बढी समय लागेपछि कामको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको थियो । प्राविधिक मापदण्डअनुसार १० घण्टाभित्र कङ्क्रिट जमेर ‘सेट’ हुनुपर्ने भए पनि २४ घण्टापछि मान्छे हिँड्दासमेत खुट्टा भासिने अवस्था भएपछि नगरपालिकाले कङ्क्रिट कोर नमूना परीक्षण गराएको थियो ।
परिक्षणका क्रममा ढलानमा प्रयोग भएको रेडी मिक्स कङ्क्रिटको गुणस्तर अत्यन्त कमजोर देखिएको छ । नगरपालिकाका सब–इञ्जिनियर प्रबिन साहका अनुसार ग्रेड २० को कङ्क्रिटमा कम्तिमा ८५ प्रतिशत अर्थात् १७ एन/एमएम ² कम्प्रेसिभ शक्ति अपेक्षित हुने भए पनि परीक्षणमा औसत दबाब सहने क्षमता ४०.८ प्रतिशत अर्थात् ८.१६ एन/एमएम ² मात्र आएको छ ।
कोशी प्रदेश सरकारको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत गरी कूल १ करोड २३ लाख रुपैयाँ बजेटमार्फत छत ढलान, प्याराफिट निर्माण, बिल्डिङको चेन्जिङ रुम फिनिसिङलगायत अधुरो काम अघि बढाइएको थियो । उक्त काम रेखबहादुर श्रेष्ठ सञ्चालक रहेको अभय चन्द्र बिल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि.ले मूल्य अभिवृद्धि करसहित ७७ लाख ६६ हजार ६६० रुपैयाँमा ठेक्का लिएको थियो ।
कार्यवाहक नगर प्रमुख तारा थापाले जनताको पैसाले बनिरहेका संरचनामा सम्झौता गर्न नसकिने बताइन । उनले भनिन्, ‘प्राविधिक मापदण्ड विपरीत काम भएको देखिएको छ । जनताको पैसाले बनिरहेका संरचनामा सम्झौता गर्न सक्दैनौँ । हामीले स्पष्ट कार्यपालिकाबाट निर्णय गरेका छौं– त्यो भत्काएर पुनर्निर्माण हुन्छ ।’































Discussion about this post