रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–२, कर्मनिया टोलमा स्थानीय सिटी सफारी चालक ४७ वर्षीय दिनेश चौधरीको गोली प्रहारबाट हत्या गरिएको घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
गत असोज २५ गते साँझ करिब ५ बजे चौधरीमाथि अज्ञात समूहले नहर डिलको सडकमा गोली प्रहार गरेर हत्या गरेको थियो । उक्त घटनामा संलग्न रामधुनी नगरपालिका–१ झुम्काका ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, ४० वर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह गाउँपालिका ५ का ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका ४ का ३७ वर्षीय गियास मन्सुरी, देवानगन्ज ५ का २५ वर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका १६ का २८ वर्षीय अंकित साह र सप्तरीको राजबिराज ९ का २८ वर्षीय प्रिन्स कुमार दास पक्राउ परेका हुन् ।
चौधरीको हत्यापश्चात घटनमा संलग्नहरू फरार थिए । प्रहरीले सुक्ष्म अनुसन्धान गरी करिब २ महिनापछि घटनामा संलग्नलाई सार्वजनिक गरेको हो ।
अन्धविश्वासकै आडमा योजनाबद्ध हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेले बताए । थेबेका अनुसार चौधरीले तन्त्रमन्त्र गरी आफ्नो परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएको भन्दै रामधुनी–१ का राजेश भनिने राजकिशोर साह र नन्द किशोर साहले योजनाबद्ध रूपमा चौधरीको हत्या गरेका हुन् ।
एसपी थेवेले भने, ‘चौधरीले तन्त्रमन्त्र गरी लामो समयदेखि परिवारका सदस्यहरूलाई बिरामी बनाई दुःख, हैरानी दिएको कारण राजकिशोर साह र नन्द किशोर साहसमेतले योजना बनाएर मोहमद इब्रान मिया लगायतका व्यक्तिहरूसँग रकम लेनदेन गरी दिनेश कुमार चौधरीलाई गोली प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।’
घटनामा संलग्न रहेका उनीहरूमाथि सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा घटनामा संलग्नहरुले अपराध स्वीकार गरेका छन् ।


































Discussion about this post