रामधुनी । सुनसरीको रामधुनी नगरपालिका-२ तित्रिवनस्थित पूर्व-पश्चिम राजमार्गमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ ।
टायर पञ्चर भएपछि सडक किनारमा रोकेर मर्मत गरिरहेको को १ ख ५१२८ नम्बरको गिटी लोड गरिएको टिपरमा शनिबार राति करिब ११ः१५ बजे मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ। झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल टिपरको पछाडिको भागमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय बिनोद चौधरी गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएकामा उपचारकै क्रममा आइतबार राति १२ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ। मोटरसाइकलमा सवार अन्य दुई जना भने सकुशल रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिइएको छ । टिपर चालक कोशी गाउँपालिका–३ का ४८ वर्षीय लाल मोहम्मद मियाँ प्रहरीको सम्पर्कमा रहेका छन् भने टिपर घटनास्थलमै छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



































Discussion about this post