रामधुनी । रामधुनी नगरपालिका–६ स्थित आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नन्दकुमार बस्नेत चयन भएका छन् ।
कक्षा १२ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयको अध्यक्षमा बस्नेत सोमबार चयन भएका हुन् । यसअघि व्यवस्थापन समितिको अध्यक्षका रूपमा शैलेन्द्र राजधामी कार्यरत थिए । उनको तीनबर्षे कार्यकाल समाप्त भएपछि विद्यालयले नयाँ नेतृत्वका रूपमा बस्नेतलाई चयन गरेको हो ।
आदर्श मावि नेपाल सरकारको नमुना विद्यालयको रुपमा छनौट भएको थियो । जसका कारण विद्यालयमा आधुनिक भवनहरु बनेका छन् । पछिल्लो समय शैक्षिक गुणस्तर सुधारका कारण पनि यो विद्यालय चर्चामा रहँदै आएको छ । विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नगरपालिकाभित्र उत्कृष्ट नतिजा हाँसिल गरेको थियो ।
नवनिर्वाचित अध्यक्ष बस्नेत लामो समयदेखि राजनीतिमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन् । नेकपा एमालेका नेता बस्नेतलाई जिल्लामा शालीन र इमानदार नेताका रूपमा चिनिन्छ । बस्नेत यसै विद्यालयका पूर्वविद्यार्थीसमेत हुन् । उनले २०४३ सालमा यही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए ।
अध्यक्ष बस्नेतले सरकारले नमुना विद्यालयका रूपमा बजेट उपलब्ध गराएपछि विद्यालयमा पर्याप्त भवनहरू निर्माण भएको उल्लेख गर्दै अब ध्यान शैक्षिक गुणस्तर सुधारतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए । हाम्रोशब्दसँगको कुराकानीमा उनले भने, ‘अब यो विद्यालयलाई नगरपालिकाको थप सहयोग लिएर शैक्षिक विकास गर्नुपर्छ । छेउछाउका केही विद्यालयहरूलाई मर्ज गरेर यसलाई नगरपालिकाकै एउटा हेर्न लायक स्कुल बनाउनुपर्छ । मेरो बिचारमा त्यसका लागि दुईवटा बस आवश्यक देखिन्छ । समग्रमा विद्यालयको भौतिक विकास भएको छ, अब थप शैक्षिक गुणस्तर वृद्धि मेरो मुख्य लक्ष्य हो ।’



































Discussion about this post