इटहरी । कोशी प्रदेश सरकारमा सहभागी हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मन्त्री तथा मन्त्रालयको टुंगो लागेको छ । नेकपाले पाउने चार मन्त्रालयसहित मन्त्रीहरुको नाम प्रदेश कार्यालय र संसदीय दलबीचको छलफलपछि तय भएको हो ।
नेकपाका तर्फबाट इलामकी खिनु लङ्वा लिम्बूले सरकारको नेतृत्व गर्ने भएकी छन् । उनले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन् ।
त्यस्तै, मोरङका जीवन आचार्य भौतिक पूर्वाधार विकासमन्त्री, सोलुखुम्बुका गोम्बू शेर्पा आन्तरिक मामिला तथा कानुनमन्त्री र मोरङकी गीता तिम्सिना सामाजिक विकासमन्त्री बन्ने तय भएको छ । सुनसरीकी सपना दर्जीलाई भने राज्यमन्त्री बनाउने निर्णय भएको छ ।
लिम्बू यसअघि पनि कोशी प्रदेशको पर्यटन, वन तथा वातावरणमन्त्री भइसकेकी छन् । आचार्यले यसअघि कोशी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालय तथा पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
शेर्पा भने पहिलोपटक प्रदेश सरकारको मन्त्री बन्न लागेका हुन् । उनी कोशी प्रदेश सरकारमा मन्त्री बन्ने शेर्पा समुदायका पहिलो व्यक्ति हुने बताइएको छ ।
नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार अपराह्न ४ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने कार्यक्रम छ ।


































Discussion about this post