इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधि सभा सदस्य सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेका गालीगलौज, व्यक्तिगत आक्रमण र घृणात्मक टिप्पणीले आफूलाई हैरान बनाएको बताएकी छन् ।
फेसबुकमा लामो स्टाटस लेख्दै सांसद भट्टराईले आफूलाई राजनीतिज्ञका रूपमा आलोचना गर्न र प्रश्न गर्न सबैलाई अधिकार रहेको बताउँदै व्यक्तिगत घृणा र अपमानजनक टिप्पणीप्रति भने असन्तुष्टि जनाएकी हुन् ।
‘सानो शहरकी एउटी केटीदेखि प्रतिनिधि सभा सदस्य बन्नेसम्मको मेरो यात्रा साँच्चिकै अद्भुत रह्यो,’ उनले लेखेकी छन्, ‘म पहिले संसार सुन्दर छ भन्ने विश्वास गर्थें । आज पनि गर्छु । तर पछिल्लो समय कमेन्टहरूमा देखिने अनावश्यक घृणा र व्यक्तिगत आक्रमणहरूले मलाई एकपटक सोच्न बाध्य बनाएको छ ।’
आफूविरुद्ध हुने घृणा र व्यक्तिगत आक्रमणलाई लिएर उनले सामाजिक सञ्जाल प्रयोगकर्तासँग एकपछि अर्को प्रश्न गरेकी छन् । ‘के मैले तपाईंलाई केही गलत गरेँ ? के मैले कहिल्यै तपाईंलाई चोट पुर्याएँ ? के मैले कहिल्यै तपाईंविरुद्ध अश्लील वा अपमानजनक कुरा गरेँ ? के मैले तपाईंलाई घृणा गर्नुपर्ने कुनै कारण दिएँ ?’ उनले प्रश्न गरेकी छन् ।
भट्टराईले राजनीतिक असहमति हुनु स्वाभाविक रहेको र आलोचनालाई आफूले स्वागत गर्ने बताएकी छन् । तर घृणा फैलाउने उद्देश्यले गरिने व्यक्तिगत आक्रमणलाई भने उनले अस्वीकार गरेकी छन् । ‘असहमति हुनु बिल्कुलै ठीक हो । आलोचना आवश्यक छ । तर केवल घृणा फैलाउनका लागि घृणा गर्नु न त शक्ति हो, न नै साहस ।’ उनले भनेकी छन् ।
आफ्नो यात्रा पूर्ण नभएको र अझै धेरै कुरा सिक्न बाँकी रहेको स्वीकार गर्दै भट्टराईले यी सबैका बाबजुद आफूभित्र कटुता जन्माउन नचाहेको बताएकी छन् । ‘मलाई थाहा छ, म आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास गरिरहेकी छु। मेरो यात्रा पूर्ण छैन। अझै धेरै कुरा सिक्न बाँकी छ,’ उनले भनेकी छन् ।
आफूविरुद्ध रिस, कुण्ठा, ईष्र्या वा घृणा बोकेर हिँडिरहेकाहरूलाई समेत उनले शुभकामना दिएकी छन् । स्टाटसको अन्त्यमा उनले आफूलाई गाली र घृणा गर्नेहरूप्रतिसमेत कटुता नराख्ने संकेत गर्दै भनेकी छन्, ‘र हो, यी सबैका बाबजुद पनि म तपाईंहरूलाई माया गर्छु ।’


































Discussion about this post