रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले भूमि व्यवस्थापनतर्फ करार सेवामा सहायक कम्प्युटर अपरेटर पदपूर्तिका लागि सञ्चालन गरेको लिखित परीक्षाको नतिजा विवादित बनेपछि छानविन समिति गठन गर्ने तयारी गरेको छ ।
परीक्षाको नतिजामाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि नगरपालिका गम्भीर रहेको र छानविनपछि समितिको प्रतिवेदनका आधारमा आवश्यक कदम चालिने प्रमुख प्रशासकीय अधिकृत तेज नारायण यादवले बताएका छन् ।
हाम्रोशब्दसँगको फोन संवादमा यादवले हिजो बसेको सर्वदलीय बैठकले समेत छानविन समिति गठन गर्न सिफारिस गरेको जानकारी दिँदै भने, ‘परीक्षाको नतिजाका सम्बन्धमा सार्वजनिक रूपमा प्रश्न उठेका छन् । ती प्रश्नहरूमा नगरपालिका गम्भीर छ । हिजो बसेको सर्वदलीय बैठकले समेत समिति बनाउने भनेको छ । त्यसैका आधारमा हामी समिति बनाउने तयारीमा छौँ । चाँडै छानविन समिति बन्छ ।’
हिजोको सर्वदलीय बैठकले तीन सदस्यीय छानविन समिति गठन गर्न सिफारिस गरेको थियो । तर, बिहीबार (आज) बसेको नगर कार्यपालिकाको बैठकले सर्वदलीय बैठकको सिफारिस र सुझाव ग्रहण गर्ने निर्णय गरे पनि समिति भने गठन गरेको छैन ।
प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार प्रस्तावित समितिमा जिल्ला प्रशासन कार्यालयबाट एक जना, नगरपालिकाबाट एक जना र आईटी विज्ञ एक जना रहने सम्भावना छ । समितिमा कस-कसलाई राख्ने भन्ने विषयमा भने अन्तिम टुंगो लागिसकेको छैन ।
यसअघि परीक्षाको नतिजाप्रति असन्तुष्ट स्थानीयले नगर प्रमुख शंकरलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत यादवको कार्यकक्षमा तालाबन्दी गरेका थिए । छानविन समिति गठन गर्ने सहमति भएपछि बुधबार ताला खोलिएको थियो ।
नगरपालिकाले मालपोत कार्यालयको सेवा सञ्चालन गर्ने तयारीसँगै ६ जना सहायक कम्प्युटर अपरेटर नियुक्तिका लागि गत आइतबार लिखित परीक्षा सञ्चालन गरेको थियो । नतिजा सार्वजनिक भएपछि छनोट प्रक्रियामाथि प्रश्न उठाउँदै स्थानीयले विरोध जनाएका हुन् ।
नतिजामा नाम सार्वजनिक भएकामध्ये अधिकांश नगरपालिका निकट व्यक्तिका आफन्त रहेको भन्दै स्थानीयले परीक्षा तथा छनोट प्रक्रिया निष्पक्ष नभएको आरोप लगाएका छन् । उनीहरूले लिखित परीक्षाको नतिजा रद्द गरी निष्पक्ष छानविन गर्न र दोषी देखिए कारबाही गर्न माग गर्दै आएका छन् ।



































Discussion about this post