रामधुनी । भोटेकोशीमा आएको भीषण बाढीपछि रसुवा भन्सार कार्यालय निर्माणमा कार्यरत बराहक्षेत्र–११ का मणिकरण राई सम्पर्कविहीन भएपछि बराहक्षेत्र नगरपालिकाले उनको खोजी कार्यमा सहयोग गर्न परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
नगर कार्यपालिका तथा नगरस्तरीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार नगर प्रमुख रमेश कार्की आफैँ राईको घरमै पुगेर परिवारजनलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
नगरपालिकाले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नगरवासीको खोजीमा सहयोग पु-याउने उद्देश्यले सम्बन्धित परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
बाढीपछि राईसहित बराहक्षेत्रका पाँच जना सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ । टिमुरेमा ट्रक चालकका रूपमा कार्यरत बराहक्षेत्र–७ का भुवनबहादुर श्रेष्ठ, रसुवाको कैलास होटलमा कार्यरत बराहक्षेत्र–३ की रुबिना कुमारी धामी, हाइड्रोवापरमा सुरक्षागार्डका रूपमा कार्यरत बराहक्षेत्र–५ का मोहन माझी र हाइड्रोवापरमै कार्यरत बराहक्षेत्र–८ का आशिष उराँव पनि सम्पर्कविहीन छन् ।
नगरपालिकाले सम्पर्कविहीन सबैको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।



































Discussion about this post