रामधुनी । भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुनसरीको रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले यस वर्ष तीजका कुनै पनि कार्यक्रम तथा उत्सवमा सहभागी नहुने घोषणा गरेकी छन् ।
देश कठिन र संवेदनशील परिस्थितिबाट गुज्रिरहेका बेला तीजलगायत कुनै पनि रमाइलो, मनोरञ्जनात्मक तथा उत्सवका कार्यक्रममा आफ्नो व्यक्तिगत उपस्थिति नरहने उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।
‘आज धेरैका घरमा चुलो बलेको छैन, धेरै परिवार पीडामा छन्, कसैको आँखामा आँसु छ, कसैको मनमा अपूरणीय पीडा छ,’ उनले भनेकी छन्, ‘यस्तो अवस्थामा हामीले गर्ने उत्सवभन्दा दुःखमा परेकाहरूको पीडामा साथ दिनु, सकेको सहयोग गर्नु र मानवताको हात बढाउनु नै ठूलो धर्म हो ।’
उनले यसपटक तीजको रमझमभन्दा विपद्मा परेका नागरिकको पीडामा साथ दिने प्रयासमा आफू रहने बताएकी छन् । आफ्नो निर्णयलाई व्यक्तिगत आग्रह वा विरोधका रूपमा नभई मानवीय संवेदनाको सानो प्रयासका रूपमा बुझिदिन उनले आग्रह गरेकी छन् ।
‘खुसी बाँड्ने दिन फेरि आउलान्, तर आज कसैलाई हाम्रो साथको आवश्यकता छ भने त्यो साथ दिन ढिला नगरौँ,’ थापाले भनेकी छन् ।
त्यस्तै, उनले तिज तथा जितीया कार्यक्रमलाई छुट्याएको रकम विपत्तिमा परेका नागरिकहरुलाई सहयोग गर्न अपिलसमेत गरेकी छन् ।



































Discussion about this post