रामधुनी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै झुम्का जेसीजले यस वर्षको तीज तथा जितिया विशेष कार्यक्रम स्थगित गरेको छ ।
झुम्का जेसीजले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै देश नै विपद्को पीडा र शोकमा रहेका बेला उत्सव मनाउन उचित नहुने जनाएको हो । विगतका वर्षमा आयोजना हुँदै आएका तीज तथा जितिया विशेष कार्यक्रम यस वर्ष नगर्ने निर्णय गरिएको अध्यक्ष रोशन खड्काले बताए । कार्यक्रमका लागि छुट्याइएको खर्च विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न खर्चिने उनले बताए ।
झुम्का जेसीजले विगतका वर्षमा तीज तथा जितिया विशेष कार्यक्रममार्फत महिला सशक्तीकरण, सामाजिक सद्भाव, संस्कृति संरक्षण र सामुदायिक एकतामा योगदान दिँदै आएको थियो । ‘यस वर्ष देश नै प्राकृतिक विपद्को पीडा र शोकमा छ,’ अध्यक्ष खड्काले भने, ‘यस्तो अवस्थामा उत्सवभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्छ भन्ने निष्कर्षमा पुगेर कार्यक्रम स्थगित गरेका हौं ।’
अध्यक्ष खड्का र महासचिव गोविन्द आचार्यद्वारा जारी विज्ञप्तिमा विपद्को कठिन घडीमा सहयोगका लागि सबैलाई आह्वानसमेत गरिएको छ । जेसीजको मूल भावना ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कर्म हो’ भन्ने मान्यतालाई आत्मसात् गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न सम्पूर्ण युवा तथा समुदायलाई आग्रह गरिएको छ ।




































Discussion about this post