रामधुनी । नेपाली कांग्रेस रामधुनी नगर कार्य समितिका सभापति सुदीप अधिकारीले सुनसरीको रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।
नेकपा एमाले रामधुनी नगर कमिटीले बिहीबार झुम्कामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले भने, ‘जनताको गुनासो लिएर मैले उहाँलाई भेटन साउनदेखि समय मागेको, ४ महिनादेखि म जत्तिको मान्छेले मेयरलाई भेट्न खोज्दा भेट्न सकेको छैन ।’
सिंहदरबारको अधिकार गाउँगाउँमा आएको भए पनि त्यसको अनुभूति रामधुनीवासीले गर्न नपाएको सभापति अधिकारीको भनाई छ ।
आम नागरिकका समस्यामा उपस्थित हुनुको सट्टा मेयर चौधरीले नगरभन्दा बाहिरै भ्रमणमा समय ब्यतित गर्न रुचाउने, नगर गौरवको योजनाका नाममा बजेट वडामा नदिई सबै नगरपालिकामा आफै राख्ने लगायत गलत काम गरिरहेको उनले आरोप लगाए ।
गत स्थानीय तहको निर्वाचनमा अधिकारी मेयर चौधरीको मुख्य प्रतिद्वन्द्वीसमेत हुन् ।