रामधुनी । रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीले झुम्का बजारको बिकास र सुरक्षा नगरपालिकाको प्राथमिकतामा रहेको बताएका छन् ।
आइतबार झुम्का उद्योग वाणिज्य संघको १० औँ साधारण सभालाई सम्बोधन गर्दै मेयर चौधरीले यस्तो बताएका हुन् ।
‘बजारमा चहलपहल बढाउँन गाउँगाउँदेखि झुम्का बजारसम्म जोडने बाटाहरु धमाधम पिच गर्ने काम भइरहेको छ । एकम्बाका मान्छेहरु इटहरी जाने, डुम्राहाका मान्छेहरु इनरुवा जाने, पिडारीका मान्छे पनि अन्यन्त्र जाने ! किन भन्दा हाम्रो झुम्का बजार आउँने बाटो धेरै धुलो उडने भएर ।’ उनले भने, ‘त्यसैले ती मान्छेहरुलाई हाम्रै बजारमा तान्न, यहाँको बजारमा केन्द्रीत गर्न नगरपालिकाले प्रत्येक वडामा ५० लाख खर्च गर्नेगरि झुम्का बजार आउँने बाटाहरु पिच गर्ने काम धमाधम गरिरहेको छ ।’
त्यस्तै, सुरक्षालाई मध्यनजर गर्दै रामधुनीमा आएको प्रस्तावित इलाका प्रहरी कार्यालयको स्थायीत्वका लागि आफुले पहल गरिरहेको नगर प्रमुख चौधरीले बताए ।
‘इलाका प्रहरी अहिले प्रस्तावित छ, त्यसको स्थायीत्वको लागि मैले अस्ति शुक्रबार चिठी लिएर मन्त्रालय गएँ । त्यो चिठी गृहबाट प्रहरी प्रधान कार्यालय पुगेको छ । सम्बन्धित निकायबाट स्थायी गरिदिने आश्वासन आएको छ ।’ उनले भने, ‘जिल्ला सुरक्षा समितिमा पनि हामी सिफारिस गर्छौँ, तपाईँ माथिल्लो निकायमा नेता लाउनुहोस् भन्ने कुरा आयो त्यसपछि मैले जसको गृहमा पहुँच छ, ती मान्छे पक्रिएँ ।’
रामधुनीमा इलाका प्रहरी कार्यालय स्वीकृत गराउँनेदेखि त्यसको स्थायीत्वका बिषयमा नेकपा माओवादी केन्द्रका नेता निर्मल बराल र नेकपा एमालेका नेता राम कोइरालाको भूमिका महत्वपूर्ण रहेको भन्दै बिकासका काममा सबैसँग सहकार्य गर्न तयार रहेको उनको भनाई छ ।
त्यस्तै, झुम्का बजारमा सिसी क्यामेरा मर्मतको काम, एउटै ठाउँमा करिब २ हजार वाटको सडक बत्ति जडानको काम लगायत महत्वपूर्ण काम भइरहेको मेयर चौधरीले बताए ।
फरक प्रशंगमा उनले नगरमा रहेको एकमात्र क्याम्पस भासी बहुमुखी क्याम्पसमा आफ्नो कार्याकालभरी बार्षिक कम्तिमा ५० लाख रुपैयाँ बजेट दिने घोषणासमेत गरेका छन् ।