३ भाद्र, २०७६ को बराह खबर राष्ट्रिय दैनिकमा एउटा शीर्षकमा समाचार छापियो– ‘मेयरको गाउँमा बनाइएको पर्खाल दुई वर्ष नपुग्दै भत्कियो !’ त्यसमा बाइलाइन मेरो थियो ।
त्यसको झन्डै एक महिनापछि :
मधेशमा वर्षायामको त्यो चर्किलो घाम । कोठाभित्र चुकुल लगाएर मस्त पढिरहेको थिएँ, सेन्डो र हाफ पाइन्ट लगाएर ।
५/६ वटा मोटरसाइकल हाम्रो घर अघिल्तिर आएर रोकिएछन् ।
त्यो हुलमा सबैजसो २०/२२ वर्षीय उरेन्ठ्यौला केटाहरू थिए । भिडिहालौं भन्ने टाइपका । संयोगवश, मैले चैं त्यसबेला हजुरबुबाको मृत्युपछि लड्ने/भिड्ने काम छोडिसकेको थिएँ । उनीहरू हाम्रो घर अघिल्तिर आएर मेरो नाम लिएर ‘बाहिर निस्की’ भन्दै चिच्याइरहे । मलाई भने ‘कोही होला’ भन्ने लाग्यो, निस्किइनँ ।
त्यसपछि त्यो भीडको नेतृत्व गर्ने पाको व्यक्ति हुनुहुन्थ्यो, हिरा सुब्बा –त्यहि पर्खाल बनाउने उपभोक्ता समितिको अध्यक्ष) जसको मृत्यु भइसकेको छ । उहाँले ढोका ढकढक गरेपछि खोलेँ । एक्कासि हातमा समाएर आँगनमा निकाल्नुभयो । छक्क परेँ । ‘के ताल हो यो, के गर्नुभा ?’, मैले यस्तै केहि भनेँ ।
उहाँले मेरो हात समाइनैरहनुभयो । अरू ती केटाहरू खै केके ठूल्ठूला कुराहरू गर्दैथिएँ, वास्तै गरिनँ । अनि उहाँले निलम खनाल (तत्कालीन बराहक्षेत्र नगरका मेयर) लाई फोन गर्नुभयो, हेड्स्फ्री गरेको हुँदा उहाँहरूको संवाद प्रष्टै सुनेँ ।
हिरा सुब्बाले भन्नुभयो– दाइ त्यो केटो घरमै रैछ, के गरौं ?
निलम खनालको जवाफ थियो– त्यसलाई घिसारेर नगरपालिका लिएर आइज ।
अनि हिरा सुब्बाले मलाई नगरपालिका हिड् भन्नुभयो । मैले जान्नँ, तपाईंहरूसँग पछि कुरा गरौंला भनेँ । उहाँले जादैनस् भने उठाएर लान्छु भन्नुभयो । त्यसबीचमा हाम्रो घर अघिल्तिर गाउँलेहरूको भीड जम्मा हुन थालिसकेको थियो । त्यै भएर मलाई उनीहरूको अगाडि थप तमास देखाइरहन मन लागेन ।
अनि नगरपालिका जाने मनशाय बनाएर ‘म पाइन्ट लगाएर आउँछु (त्यसबेला हाफपाइन्ट लगाएर नगरपालिका पस्न पाइँदैनथियो) भनेर कोठाभित्र जान खोजेँ । हिरा सुब्बाले घोक्राएर मलाई तान्नुभयो र, एउटा मोटरसाइकलको पछाडि बसाएर नगरपालिका पुर्याउनुभयो ।
नगरपालिकाको कार्यालय पुर्याइयो । मेयर खनालको कार्यकक्षमा सेवाग्राही, कर्मचारी, जनप्रतिनिधि (मलाई याद भएसम्म तत्कालीन ७ नम्बर अध्यक्ष वीरबहादुर लिम्बूसहित) २० जनाको हाराहारीमा मान्छेहरू थिए । मलाई सोफाको एउटा कुनामा बसाइयो । बसाइयो पनि के भन्नू, थचारिइयो ।
त्यसपछि मेयर खनाल र मबीच यस्तो संवाद (मलाई याद भएसम्म) भयोः
मेयर : के समाचार लेखेको तो ? मलाई त राम्रै होलास् भन्ने पो लागेको थ्यो । (हामी एकअर्काको छिमेकीसमेत भएको कारण पहिल्यैदेखि मैले उहाँलाई सम्मान गर्ने भएकाले)
म : मैले त्यस्तो गल्ती के लेखेको छु र ?
मेयर : … त्यो गाउँ तेरो पनि होइन, किन मेयरको गाउँ लेखिस्, तैले मलाई नराम्रो देखाउन खोजेर म नराम्रो हुन्छु ?
म : त्यो त समाचारको भाषा होनि सर ।
मेयर : तँ मलाई भाषा सिकाउँछस्, यो ठाउँमा सबैभन्दा पैला पत्रीका निकाल्ने मान्छे हुँ म ।
म : था छ ।
मेयर : …हिजोअस्तिको चल्लो जस्तो लाग्छ, तेरो यति छिटो पखेटा पलाइसको ? नगरपालिकाको ३० लाख बजेट भनेर कहाँबाट लेखिस्, तैले देको छस ? (एकोहोरो)
म : तपाईंले अलि कुरा नबुझ्नु भको हो । पालिकाको २० लाख र वडाको १० लाख ८० हजार लेखेको हो । जम्मा गरेर ३० लाख ८० हजार खेर गयो भनेको हो । अनि अर्को कुरा, तपाईंलाई था छैन होला, हात्तीलाई पनि कमिलाले लडाउनसक्छ ।
मेयर : ए तँ अझै ठूलो कुरा गर्छस ? तेरो करङ सरङ भाच्दिउँ ?
म : हेरौं न त । (उहाँको धेरै कुरा थाहा पाएको भएर मलाई डरै थिएन)
मेयर : …मैले चाहे भने तलाईं अहिले खतम गरेर कोशीमा मिल्क्याइदिनसक्छु । (यसबेलासम्म अघिका ती सबैजसो मान्छेहरू बाहिर निस्किसकेका थिए, हिरा सुब्बाको टोली मात्र थियो) तेरो बाउलाई सोध, म कस्तो मान्छे भनेर । (मेरो ड्याडीसँग उहाँको राम्रो दोस्ती थियो)… तेरो बाउलाई अहिले झिकाएर कुरा गर्दिउँ ? (त्यसबेला ड्याडी विदेशमा हुनुहुन्थ्यो)
म : (ड्याडीको कुरा आएपछि म झस्किएँ) तपाईं र मेरो कुरामा ड्याडीलाई किन बीचमा ल्याउनुहुन्छ ?
मेयर : ‘त्यो गाउँमा आजसम्म मलाई कसैले ठाडो आँखा लगार हेर्न सकेको थ्येन । तेरो यत्रो हिम्मत काँबाट आयो ? कस्ले उचालो तलाई ?
(एकछिन चर्चाचर्की भएर सकिएपछि)
मेयर : भोलि नि गर, त्यो समाचार झुटो हो, मेरो गल्ती भयो भनेर त्यहीँ पत्रीकाबाट माफी माग् । नत्र तेरो बाउ…
ड्याडीको कुरा आएपछि सम्भवतः म आत्तिएको हुँदो हुँ । हुन पनि त्यो कलिलै दिमागले केही न केही डर अनुभूत गरेकै हुँदो हो । त्यै भएर ‘हुन्छ, माफी माग्छु’ भनेँ । त्यसपछि मलाई जान भनियो । एक किसिमले भन्दा, त्यो कोठाबाट थुनामुक्त भैयो ।
म अरू केही नसोचेर घर फर्किएँ । घर पुगेपछि थाहा पाएँ, थुप्रै गाउँलेहरू हाम्रो घरमा भेला भएका रहेछन् । खासगरी केही बुज्रुक युवाहरू भने ‘निलम खनालको घर जाऔं, यस्तो राणाशासन चल्दैन’ यस्तैयस्तै भनिरहेका थिए । पढाइमा राम्रै विद्यार्थी भएको कारण मलाई परीक्षा बिग्रेला कि भन्नेमा ध्यान थियो । त्यही भएर मैले ती युवा साथीहरूलाई ‘मिलिसक्यो’ भनेर छाडिदिए ।
त्यसपछि म यता परीक्षाको तयारीमै लागिरहेँ । तर, त्यो खबर चारैतिर फैलिसकेछ । पत्रकारका नेताहरूसम्म पनि पुगेछ । बेल्कातिर मलाई प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले फोन गर्नुभयो । घटनाबारे सोध्नुभयो । मैले हुबहु बताइदिएँ । अनि धन दाइले ‘ल मेयरसँग बसेर कुरा गर्नुपर्छ’ भनेर फोन राख्नुभयो ।
नभन्दै पर्सीपल्ट जिल्लाबाट तत्कालीन पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का, प्रेस युनियन सुनसरी पूर्वअध्यक्ष चेतन धमला र तत्कालीन अध्यक्ष धनबहादुर पुरी अनि पत्रकार हेमराज दाहाल आउनुभयो । साथमा स्थानीय पत्रकार हिरण्य कार्की र दिपक पुरी पनि सहभागी हुनुहुन्थ्यो । (परीक्षाकै कारणले पत्रकार संगम विष्ट त्यहाँ उपस्तिथ हुन नसकेपनि उहाँको समर्थन थियो । तर, तत्कालीन म कार्यरत सुनसरी एफएम र त्यसका स्टेसन म्यानेजर पुष्प ढुंगानाको साथ रहेन ।) मेयरको गोप्य कोठामा गएर छलफल गरियो ।
सुरूमा भने मेयर खनालले ठूल्ठूला कुरा गरेपनि दाइहरूले प्रेस विज्ञप्ति निकाल्ने चेतावनी दिएपछि मत्थर हुनुभयो । अनि अन्त्यमा ‘हामी त छिमेकी पनि हौं, उसको बुवा मेरो साथीजस्तो मान्छे हो, यसलाई बाहिर नलगौं, मैले गल्ती स्विकारेँ’ भनेपछि एक अर्कासँग हात मिलाएर हामी सबै छुट्यौं ।
त्यो नै मेरो पत्रकारिता यात्राको पहिलो कठिन मोड थियोे । त्यसअघि मैले कोचिला एफएम र सुनसरी एफएमबाट भर्खरै पत्रीकामा समाचार लेख्न थालेको थिएँ । तर, एफएमहरूमै हुँदा त्यसअघि पनि विभिन्न धम्किपूर्ण प्रेस विज्ञप्तिदेखि कयैंन प्रलोभनसम्म ब्यहोरिसकेकै थिएँ । मैले मात्र होइन, मोफसलका काम गर्ने सबै (जसो) पत्रकारले यो सब झेलिरहेकै थिए÷छन् । पत्रकार महासंघ सुनसरीमा बसेर काम गर्दैगर्दा अनुभव गरेको छु ।
तर, त्यो मोड्मा मसँग दुई विकल्प थिए– कि गिभअप गर्नुपथ्र्यो कि थप शसक्त भएर यात्रा अगाडी बढाउनुपथ्र्यो । मैले दोस्रो विकल्प रोजेँ ।
हुन त मैले त्यसअघिसम्म पत्रकारिता लामो समय गर्ने सोचेकै थिइनँ । शिक्षणबाट ‘रेडियोमा बोल्न’ मन भएर मात्र यता लागेको थिएँ । तर, त्यो घटनाले मलाई आफैंसँगको चुनौती थपिदियो । सकारात्मक बदलाको भावना जगाइदियो । त्यो भन्छन् नि, सक्सेस इज द बेस्ट रिभेन्च । पत्रकारिताबाटै सोकल्ड सक्सेस हुनुपर्छ भन्ने लागेको थियो, त्योबेला । अनि पत्रकारिताबाट भाग्नै मन लागेन ।
रैपनि यति त पक्का हो, त्यो घट्ना नभएको हुन्थ्यो त म पत्रकारितामा रहन्नथिएँ कि !
कसरी सम्झिने निलम खनाललाई ?
मैले व्यक्तिगत रूपमा दिवङ्गत निलम खनाललाई सम्झिने अनेकन् किस्साहरू छन् नै । तर, सिङ्गो हाम्रो ठाउँका बासिन्दाहरूले उहाँलाई सम्झिने भनेको बराहक्षेत्र नगरको पहिलो मेयर भनेरै हा । र, त्यस रूपमा उहाँले दिएको केही देनहरू नै हो । एमालेजनले एमाले सुनसरीको अध्यक्षका रूपमा पनि सम्झिँदा हुन् ।
सायद सानै उमेरदेखि राजनीति गरेर आएको भएकाले पनि होला, उहाँमा राजनीतिक संस्कार थियो । जुन व्यबहारतः पालनासमेत गरिइएको थियो । मलाई यहिपक्ष ठिक लाग्यो ।
मेरै प्रसंग :
म त्यसैबेलादेखि एउटा मान्यतामा स्पष्ट थिएँ/छु, जोकोहीसँग पनि एउटा खास विषयमा बिचार नमिल्नसक्छ, यो स्वाभाविक पनि हो । किनकि संसार यतिधेरै रमाइलो हुनुको यो पनि कारण होकि यहाँ थुप्रै विविधताहरू छन् । यहाँ सबैलाई सबैकुरा मन पर्दैनन् र, सबैको एकैखाले बिचार पनि हुँदैनन् । तर, एउटा व्यक्तिसँग एउटा विषयमा मत मिलेन भनेपनि सबै विषयमा मिल्दैन नै भन्न सकिँदैन । त्यसैले कुनै एक कारणले त्यो व्यक्तिसँगको सम्बन्धमा पूर्णविराम लगाउँनुहुँदैन । जो सत्यको परिभाषा आआफ्नै हुन्छ । अतः फरक मतको कदर गर्नुपर्छ ।
निलम सर (उहाँलाई पहिल्यैदेखि सर भन्थें) र ममा त्यो एउटा कुरामा मत माझामाझ भयो, सकियो । ३ महिनाजति पछि हामी एउटा औपचारिक कार्यक्रमको ड्यासमा सँगै थियौं । त्यसपछि कयौंपटक सँगै भएका छौं । सम्बन्ध त फेरि उस्तै रहिरह्यो । किनकि उहाँमा राजनीतिक संस्कार थियो, ममा लचकता थियो ।
त्यो घटनादेखि उहाँको मृत्यु नहुन्जेसम्म असल सम्बन्ध रह्यो ।
तर, आजका मेयर रमेश कार्कीलाई हेर्छु अचम्म लाग्छ । न राजनीतिक संस्कार छ, न मिडियामैत्री छन्, न लचकता छ, मुख्य कुरा त मेयरको रूपमा कुनै भिजन नै छैन ।
कोही कसैसँग एउटा विषयमा कुरा मिलेन भने ‘म त्यसलाई बजेट नै दिन्न, मलाई फोन नै नगर्नु अब’ भन्छन् । हुन त आजका मेयर कार्की राजनीति गरेर निखारिएका व्यक्ति नभएर पनि हुनसक्छ, राजनीतिक संस्कार नबुझेको ।
निलम खनाल मेयरको रूपमा :
आजको बराहक्षेत्रको जग मेयर निलम खनालले बनाइदिएको हो । ११ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्रको भवन बनेको छ, ६ नम्बर बाहेक सबै वडाको भवन बनेको छ, पालिकाको भवन सुव्यवस्थित छ । निलम खनालकै देन हो ।
आजको सप्तकोसी बहुमुखी क्याम्पस र नगर अस्पताल उहाँकै देन हो । उहाँले १ करोड ५५ लाख पालिकाबाट मात्र विनियोजन गरेर सप्तकोसी क्याम्पस आजको स्थितिमा आइपुग्यो । त्यसमाथि प्रदेश र विभिन्न दातृ निकायहरूसँगको समन्वय त लोभलाग्दो थियो । त्यसैको कारण आज त्यस क्याम्पसमा ६०० बढी गरिबका छोराछोरी पढ्न पाएका छन् ।
ग्रामीण क्षेत्रमा रहेर नगर अस्पतालमा आज दैनिक सयौं विरामीले लाभ उठाउनसक्ने परिस्थिति बनेको छ। यो निलम खनालकै देन हो ।
तर, जसरी आजका मेयर रमेश कार्कीले ढाट्न खोजिरहेका छन्, त्यो सत्य होइन । ढाट्न त कार्कीले ढाटे बराहक्षेत्रबासीलाई । तत्कालीन खनाल नेतृत्वको सरकारको भ्रष्टाचार फाइल खोल्छु भनेर ढाटे, हामी आउनेबित्तिकै नगर अस्पताल फाइदामा गयो भनेर ढाटे, ३४ लाखको गाडी क्याम्पसलाई दिएर सिंग्गो क्याम्पसको उन्नयनमा मेरो देन छ भनेर ढाटे । अरू थुप्रै कुरा ढाटे ।
अन्त्यमा,
निलम खनाललाई बराहक्षेत्रबासीले कसरी सम्झिने र उहाँको देन केके हुन् ? अर्को लेखमा विस्तृत चर्चा गरौंला ।
अन्तिमपटक निलम सरप्रति गहिरो स्मरण । यहाँको देनको कारण सधैं अमर रहनुहुनेछ । सायोनारा निलम सर !
(पत्रकार सुबिन विश्वकर्माले आफ्नो वास्तविक घटनामा आधारित रहेर लेखेको ब्लग हो। उनी हाल उकेरा डटकम र राष्ट्रिय समाचार समितिसँग आबद्द छन्।)