रामधुनी । रामधुनी नगरपालिकाको आइतबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली कांग्रेस रामधुनी नगर सभापति सुदीप अधिकारीले ‘स्थानीय सरकारको आवधिक योजना खै ?’ भनेर नगरपालिकालाई प्रश्न गरेका छन् ।
‘नेपालको संविधान जारी भइसकेपछि सबै तहका सरकारको, स्थानीय तहको पनि आवधिक योजना हुन्छ । रामधुनी नगरपालिकालाई आवधिक योजना आवश्यक नपरेको हो भने भन्दिनुपर्यो यहि कार्यक्रम मार्फत । मेयर, उपमेयर र कार्यकारी प्रमुख यहि हुनुहुन्छ ।’ अधिकारीले भने, ‘आवधिक योजना बनाउन किन स्थानीय सरकार चुक्यो ? मलाई लाग्छ यो निकै गम्भीर त्रुटी हो ।’
जवाफमा मेयर शंकरलाल चौधरीले आवधिक योजना बनाउन १० लाख बजेटसमेत विनियोजन गरिएको भए पनि त्यसका लागि विज्ञ टिम उपलब्ध नभएकाले समस्या भएको बताए । मेयर चौधरीको जवाफ चित्तबुझ्दो नभएको भन्दै अधिकारीले पुनः प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाललाई जवाफ दिन भनेका थिए । जवाफमा ढकालले यस बिषयमा पटकपटक छलफल भएको भए पनि डिजिटल नगर प्रोफाइल निर्माण गरेर त्यसका आधारमा मात्रै आवधिक योजनाका बनाउनु उपयुक्त हुने भएकाले समय लागेको बताए । आगामी आर्थिक बर्ष आवधिक योजना निर्माण गरिने ढकालको भनाई छ ।
अहिले देशभरिका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको प्रकृयामा छन् । आवधिक योजना बनाएर स्थानीय आवश्यकता र नागरिकको चाहना अनुसार बजेट निर्माण गर्नुको सट्टा मनपरी बजेट खर्च गर्ने प्रवृति गलत भएकाले आवधिक योजना आवश्यक रहेको सभापति अधिकारीको भनाई छ ।