रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ९ मा रहेको धुराहा खेल मैदान आधुनिक बन्दै गएको छ । खेलमैदानलाई व्यवस्थित र प्रदेश स्तरीय खेल मैदान बनाउने उद्देश्यसहित स्टेडियम निर्माणको काम तीव्र गतिमा अगाडि बढाइएको वडा कार्यालयले जनाएको छ ।
रामधुनी नगरपालिका र वडा नम्बर ९ को पहलमा भइरहेको निर्माण कार्यले मैदानलाई निकट भविष्यमा स्तरीय र सुविधा सम्पन्न बनाउने लक्ष्य लिएको छ । वडाध्यक्ष घनश्याम चौधरीका अनुसार खेलप्रेमी युवालाई लक्षित गरी मैदानलाई पूर्ण रूपमा स्टेडियमको स्वरूप दिन प्यारापिट, शौचालय, गुणस्तरीय खानेपानी र अन्य भौतिक पूर्वाधार विस्तारको काम भइरहेको छ ।
‘यो खेल मैदान भविष्यमा रामधुनीकै गौरव बन्नेछ,’ वडाध्यक्ष चौधरीले भने । उनले मैदानलाई मापदण्ड अनुसारको व्यावसायिक फुटबल मैदान बनाउन अझै एक बिघा जग्गा आवश्यक रहेको बताए । अहिले मैदान करिब एक बिघा दश कट्ठा क्षेत्रफलमा फैलिएको छ । ‘जग्गा खरिद गर्ने बिषय वडा कार्यालयको क्षमता र अधिकार क्षेत्रभन्दा बाहिर भएकाले यसमा नगरपालिका, प्रदेश र संघ सरकारको साथ आवश्यक छ,’ उनले थपे । वडाध्यक्ष चौधरीका अनुसार हालसम्म संघ, प्रदेश र स्थानीय सरकारको गरी करिब २ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि थप ७० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको उनले बताए ।
खेलमैदान स्तरीय भएसँगै फुटबलसहित विभिन्न खेल गतिविधि सञ्चालन सहज हुने र वडामा मात्र नभइ नगरकै पहिचान बढाउने अपेक्षा गरिएको छ । खेलकुदले युवामा सकारात्मक ऊर्जा थप्ने र समाजलाई एकताबद्ध गर्ने भएकाले नगरपालिकाले यसलाई उच्च प्राथमिकतामा राखेको नगर प्रमुख शंकरलाल चौधरीले बताए । ‘युवामा सकारात्मक ऊर्जा थप्ने र समाजलाई एकताबद्ध गर्ने गर्ने काम खेलकुदमार्फत हुन्छ । त्यसैले मैदान स्तरीय बनेपछि प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य लिइएको छ,’ उनले भने ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post