रामधुनी । इटहरीमा बम भनिएको शंकास्पद वस्तु प्रेसर कुकर भएको पुष्टि भएको छ । मंगलबार इटहरी उपमहानगरपालिका अगाडि फेला परेको शंकास्पद वस्तु प्रेसर कुकर रहेको पुष्टि भएको हो ।
नेपाली सेनाको काली शक्ति गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा प्रेसर कुकर फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कुकरभित्र राष्ट्रिय सुरक्षा दल भनेर लेखिएको पर्चा फेला परेको छ । बम राखेको भनेर इलाका प्रहरी कार्यालय इटहरी र पकलीमा प्रहरीलाई म्यासेज आएपछि विशेष सावधानी अपनाएको प्रहरीको भनाई छ ।
इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाले जानकारी दिए । घटनाबारे गम्भीर ढंगबाट अनुसन्धान सुरू गरिएको प्रहरीको भनाइ छ ।