रामधुनी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सुनसरीको रामधुनी नगरपालिकाका कक्षा ६ देखि १० सम्म अध्यनरत र विद्यालय नजाने १० देखि १४ बर्ष उमेर समुहका २ हजार ९२३ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप लगाइने भएको छ ।
खोप कार्यक्रम आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशव्यापी रुपमा एकैपटक सञ्चालन हुने र एउटा पालिकाले ७ देखि १० दिनसम्म अभियान सञ्चालन गर्नेछ । त्यसै अन्तर्गत रामधुनीमा आगामी माघ २३ गतेदेखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले हाम्रोशब्दलाई जानकारी दिए । पौडेलका अनुसार नगरमा ३५ ओटा विद्यालय र ९ ओटा स्वास्थ्य केन्द्रहरु गरेर जम्मा ४४ ओटा खोप केन्द्रबाट खोप दिइनेछ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाटसमेत प्रमाणित भएकाले एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन खोप आवश्यक भएकाले यो अभियानमा सहभागी हुनु आवश्यक भएको पौडेलको भनाई छ । ‘नेपालमा वार्षिक दुई हजार महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको रहेछ ।’ पौडेलले हाम्रोशब्दसँग भने, ‘यो खोप लगाउँदा एचपिभीको सङ्क्रमणबाट हुने पाठेघरको मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने भनिएको छ । डब्लुएचओले प्रमाणित गरेको र नेपाल सरकारले देशैभर अभियान सञ्चालन गरेकाले खोपको विश्वसनीयतामा आशंका गर्नुपर्दैन । म सबैसँग आग्रह गर्न चाहन्छु– ढुक्कसँग खोप लगाउनुहोस्, किशोरीहरुलाई अभिभावक र समाजले पनि लगाउँन प्रेरित गर्नुपर्छ ।’