सुनसरी । परम्परागत रुपमै नेपाली कांग्रेसको प्रभाव क्षेत्रको रुपमा रहेको सुनसरीको २ नम्बर निर्वाचन क्षेत्रमा निर्वाचनको मिति नजिकिदै जाँदा यसपटकको प्रतिनिधिसभातर्फ कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
त्यहाँ प्रदेश–१ का मुख्यमन्त्रीसमेत भइसकेका नेकपा (एमाले)का स्थायी कमिटी सदस्य भीम आचार्य र लगातार दुईपटक संघीय सांसद भएर राज्यमन्त्री भइसकेका नेपाली कांग्रेसका सीताराम मेहता चुनावी प्रतिस्पर्धामा छन् ।
सीताराम ‘ग्राउण्ड पोलिटिक्स’गर्ने नेता मानिन्छन् । ‘गरिबका नेता सीताराम मेहता’ २०७४ सालको प्रतिनिधिसभा निर्वाचन जिताउने उनको चर्चित नारा थियो । उनले नेकपा (माओवादी केन्द्र) का डम्मर सुवेदी (हिमाल) लाई ६ हजार १४६ मतान्तरले पराजित गरेका थिए ।
त्यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि मेहता निर्वाचित भएका थिए । लगातार दुई पटक जित निकालेर निकै उत्साहित रहेका मेहता यसपटक ‘ह्याट्रिक’ गर्ने दाउमा छन् ।
पार्टीभित्र राजिब कोइरालालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउनु पर्ने मागका बिच आफ्नो नाममा टिकट ल्याउन सफल मेहतालाई त्यसका कारण उत्पन्न पार्टीभित्रको मनमुटाब, स्थानीय तहको निर्वाचनको टिकट वितरणलाई लिएर भएको आन्तरिकद्धन्द मिलाउँदै माहौल बनाएर चुनावमा तेस्रो जित निकाल्ने चुनौति देखिएको छ ।
संविधान निर्माणमा सक्रिय सहभागिता जनाएको बताउने मेहताले ०७४ को निर्वाचनका बेला गरेको बाचा पूरा गरेको दाबी गर्छन् । ‘त्यो बेला गरेको बाचा पूरा गरेँ, केही पूरा हुने प्रक्रियामा छन् । त्यो पूरा गर्न यसपटक मलाई जनताले मत दिन्छन्, ’ उनले भने ।
तर, उनले दाबी गरे जस्तो अवस्था छैन । लगातार सांसद हुँदा जिल्लाको विकासमा भूमिका निर्वाह गर्न नसकेको उनीमाथि आरोप लाग्ने गरेको छ । पूर्वाधार विकासमा पनि मेहताले काम गर्न नसकेको बताइन्छ । विशेषगरी इनरुवा–कौवाखोज सडक निर्माण हुन नसक्दा मेहताको तीव्र आलोचना हुने गरेको छ ।
अर्कोतर्फ पार्टीभित्रको आन्तरिक गुटबन्दीको प्रभाव पनि यसपटक पर्ने देखिएको छ । टिकट वितरणमा देखिएको असन्तुष्टि निर्वाचनमा पोखिने मेहतालाई डर छ । कमजोर बन्दै गएको अवस्थामा पुरानै अनुहारलाई दोहो¥याउँदा पार्टीभित्र असन्तुष्टि छ ।
यसले नेता कार्यकर्तामा उत्साह देखिएको छैन । यसको प्रत्यक्ष असर निर्वाचन प्रचारप्रसारमा पनि देखिएको छ । केही दिन अघि मेहताको आधार क्षेत्रमा रहेको देवानगञ्जमा उनीबिरुद्धको स्थानीयको नाराबाजी असरको आरम्भको रुपमा देखिएको छ ।
यीनै कारणले एमालेका ‘हेभि वेट’ नेता भीम आचार्यसँगको प्रतिस्पर्धा उनका लागि निकै कठिन बन्न सक्ने आंकलन धेरैको छ । तर, मधेसी समुदाय भएको र त्यसमा पनि मेहता भएकाले जातीय मत उनको पक्षमा आउने विश्लेषण गरिएको छ । दक्षिणवर्ती क्षेत्रको जातीय मत उनका लागि निर्णायक हुने धेरैको विश्लेषण छ ।
अर्कोतर्फ २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ प्रदेशसभा (क) बाट जितेका भीम आचार्य प्रदेश–१ सरकारको मुख्यमन्त्री भए । यसपटक भने आर्चाय प्रदेशसभा छाडेर प्रतिनिधिसभामा प्रतिस्पर्धा गरिरहेका छन् ।
आचार्यले क्षेत्र पनि परिवर्तन गरेका छन् । अहिले सुनसरीको २ नम्बर क्षेत्रमा आएका छन् । उनको यो गृहक्षेत्र पनि हो । २०७४ को प्रदेशसभा जितेका आचार्य सुरुमै मुख्यमन्त्री हुने योजनामा थिए । तर, नेकपा (एमाले) प्रदेशसभा संसदीय दलको निर्वाचनमा शेरधन राईसँग पराजित भए । पछि राईले पद छाडेपछि करिब ७० दिन मुख्यमन्त्री बने ।
संसद् विघठनविरुद्ध आवाज उठाएका आचार्य माधव नेपालले पार्टी विभाजन गर्दा १० बुँदे सहमति गर्दै एमालेमै बसे । मूख्यमन्त्री हुने शर्तमा आचार्यले माधव नेपालको साथ छाडेका थिए । अल्पमतको मुख्यमन्त्रि भएका आचार्यको सरकार दुई महिनामै ढलेको थियो ।
मुख्यमन्त्री हुन १० बुँदे सहमति गरेको आचार्यमाथि आरोप छ । त्यही १० बुँदेको ट्यागले उनलाई अहिले तनाब दिएको छ । माथिल्लो तहमा नेताहरू मिले पनि तल्लो तहका नेता कार्यकर्तामा विश्वास बनिसकेको छैन । जरासम्म नै फैलिएको अविश्वास मेटाउन उनी प्रचारप्रसारमा लागि परेका छन् ।
अर्कोतर्फ एमालेका जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीसँगको उनको ‘राजनीतिक तिक्तता’ पनि निर्वाचनमा तगारो बनेको छ । २०७४ को निर्वाचनका बेला आचार्यले भण्डारीलाई रोकेर माओवादीलाई टिकट दिएका थिए ।
आचार्यले समानान्तर गुट चलाएर लगातार भण्डारीलाई दबाबमा राखेका थिए । यसपटक पनि प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारी गरेका भण्डारीलाई प्रदेशसभामा झारेर आचार्य आफैँ चुनाव लड्दै छन् । पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन आचार्यलाई निकै समस्या परेको छ ।
गठबन्धनको आस
पार्टीभित्रको राजनीतिले अप्ठ्यारोमा परेका आचार्यलाई जनता समाजवादी पार्टीसँगको गठबन्धनको ठूलो आसा र भरोसा छ । एमालेका नेताहरु जसपासँगको गठबन्धनले चुनाव जित्ने दाबी गर्छन् । मतका आधारमा नेपाली कांग्रेसको गठबन्धनभन्दा एमाले जसपा गठबन्धन अगाडि छ ।
स्थानीय तहको निर्वाचनमा प्राप्त भएको मतका आधारमा दुई गठबन्धनको हिसाब गर्ने हो भने एमाले जसपा गठबन्धनका उम्मेदवार आर्चाय जित नजिक छन् । नेपाली कांग्रेसको गठबन्धनका सीताराम मेहताले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
स्थानीय तहको मत परिणाम
निर्वाचन क्षेत्र नम्बर २ मा इटहरी उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, १६, १७, १८, १९, २० गरी १० वटा वडा रहेको छ । इटहरीका १० वटा वडा मध्ये नेकपा एमालेले ८ र नेपाली कांग्रेसले २ वटा वडामा जित हासिल गरेका छन ।
इटहरीको १० वटा वडामा खसेको मत मध्ये नेकपा एमालेका वडाध्यक्षहरुले कुल १९ हजार ६ सय ८१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका वडाध्यक्षहरुले २० हजार ९ सय १६ मत प्राप्त गरेका छन ।
त्यस्तै रामधुनी नगरपालिकाको ६ वटा वडा क्षेत्र नम्बर २ मा पर्दछन । यहाँको १, २, ३, ५, ६, ९, १० नम्बर वडा सो क्षेत्रमा पर्दछ । जसमध्ये नेकपा एमालेले ३ वटा वडामा वडाध्यक्ष जितेको छ भने कांग्रेसले २ वटा वडामा जितेको छ । एउटा वडामा भने कांग्रेस गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले वडाध्यक्ष पदमा जित निकालेको छ ।
त्यहाँ नेकपा एमालेका वडाध्यक्षहरुले ७ हजार ६८ र नेपाली कांग्रेसका उम्मेदवारहरुले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका छन । तर अहिले कांग्रेस गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले जितेको वडा नम्बर ९ को मत जोड्ने हो भने कांग्रेस एमालेभन्दा अगाडि हुन्छ । त्यहाँ एकीकृत समाजवादीले १ हजार ६ सय ७२ मत प्राप्त गरेको छ ।
सोही क्षेत्रमा इनरुवा नगरपालिकाको १, २, ५, ६, ९ र १० गरी छ वटा वडाहरु पर्दछन । जसमा एमालेले दुई वटा वडा र नेपाली कांग्रेसले ४ वटा वडामा जित हासिल गरेको छ । इनरुवाको यी वडामा खसेको मत मध्ये नेकपा एमालेले ५ हजार ३ सय ३० र नेपाली कांग्रेसले ६ हजार ४ सय ९१ मत प्राप्त गरेको छ ।
पार्टीगत रुपमा प्राप्त गरेको मतको आधारमा कांग्रेस एमालेभन्दा अगाडि रहेपनि ति वडाहरुमा एमाले गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपालले पनि उल्लेख्य मत प्राप्त गरेकोले त्यो मतलाई जोड्दा नेकपा एमाले अगाडि हुन्छ । इनरुवाको १, २ र ९ नम्बर वडामा मात्रै जसपाले १ हजार ५ सय ५० मत प्राप्त गरेको छ भने ५ र ६ लाई जोड्दा झण्डै अठार सयको हाराहारीमा मत देखिन्छ ।
त्यस्तै हरिनगर गाउँपालिकाको वडा नम्बर ३ गौतमपुर पनि सोही क्षेत्रमा पर्दछ । त्यहाँ थोरै मतको अन्तरले नेपाली कांग्रेस विजयी भएको छ । त्यहाँ नेपाली कांग्रेसले ९ सय ८६ मत प्राप्त गर्दा नेकपा एमालेले ९ सय ६४ मत प्राप्त गरेका छन ।
झण्डै २२ मतले नेपाली कांग्रेस अगाडि रहेपनि त्यहाँ जसपाले ८७ मत प्राप्त गरेकोले सो मतलाई जोड्ने हो भने त्यहाँ एमाले–जसपा गठबन्धन अगाडि देखिन्छ ।
त्यसैगरी सात वटा वडा रहेको देवानगञ्ज गाउँपालिका पुरै सोही क्षेत्रमा पर्दछ । त्यहाँ नेपाली कांग्रेसले एउटा, नेकपा एमालेले दुई वटा र जनता समाजवादी पार्टीले चार वटा वडामा जित हासिल गरेका छन ।
सो गाउँपालिकामा नेपाली कांग्रेसले ५ हजार ९ सय ७२ मत प्राप्त गरेको छ भने नेकपा एमालेले३ हजार ४ सय ३८ मत प्राप्त गरेको छ । त्यहाँ पार्टीगत मतको आधारमा नेपाली कांग्रेस नेकपा एमालेभन्दा दुई हजार पाँच सय मतले अगाडि रहेको छ तर त्यहाँ एमाले गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपालले सबैभन्दा बढी ६ हजार १ सय ३२ मत प्राप्त गरेको छ ।
गठबन्धनमा रहेका दुई दलको मत जोड्ने हो भने त्यहाँ एमाले अहिलेको स्थितिमा तीन हजार पाँच सय मतभन्दा पनि बढी मतले अगाडि रहेको छ ।
समग्र क्षेत्रमा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ३६ हजार ४ सय ७१, नेपाली कांग्रेसले ३८ हजार ३३ मत प्राप्त गरेका छन । जसमा एमाले गठबन्धनमा रहेको जसपा, नेपालले ८ हजार २ सय मत प्राप्त गरेको छ । गठबन्धनमा रहेका दुबै दलका मत जोड्ने हो भने समग्र क्षेत्रमा नेकपा एमाले ६ हजार बढी मतले अगाडि देखिन्छ ।
तर स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा प्राप्त हुने मत फरक हुने स्थानीय नेताहरूको भनाइ छ ।
स्थानीय तह निर्वाचनमा व्यक्ति रोजेका मतदातले यसपटक पार्टी रोज्ने भएकाले सोहीअनुसार मत नआउने उनीहरूको भनाइ छ । तर, पनि राम्रो संगठन गरेका कारण जसपाको मत निर्णायक बन्न सक्ने देखिन्छ ।
































Discussion about this post