रामधुनी । थारु समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली र स्थानीय उत्पादनलाई उजागर गर्न सुनसरीको रामधुनीमा फुड फेस्टिबल तथा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । थारु कल्याणकारीणी सभा (थाकस) रामधुनी नगर कार्यसमितिको आयोजनामा जेठ ९ गतेदेखि २४ गतेसम्म फुड फेस्टिबल तथा सांस्कृतिक महोत्सव हुने भएको हो । शनिबार थाकस सुनसरीको कार्यालयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै थाकस रामधुनीका सभापति राजकुमार चौधरीले महोत्सवलाई खानपान, संस्कृति र पर्यटन प्रवद्र्धनको सशक्त माध्यम बनाउने लक्ष्य लिएको बताए ।
महोत्सवले समाजमा जातीय सद्भाव अभिवृद्धि गर्ने, मौलिक परम्परा र संस्कृति जगेर्ना गर्ने, नयाँ पुस्तामा थारु संस्कृति पुस्तान्तरण हुन सहयोग गर्ने, स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने, नगरमा पर्यटन विकासमा योगदान पु¥याउने र समग्र नगरको आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार महोत्सव अवधिभर २० वटा स्टल सञ्चालनमा रहनेछन् । ती स्टलहरूमा थारु मौलिक परिकार, परम्परागत भाँडाकुँडा, खेतीबालीमा प्रयोग हुने औजार लगायत प्रदर्शनीमा राखिने सभापति चौधरीले बताए । सांस्कृतिक कार्यक्रम महोत्सवको अर्को मुख्य आकर्षणको रुपमा रहेको छ । विशेष गरी थारु परम्परागत नृत्यलाई प्राथमिकता दिँदै प्रत्येक दिन स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने थाकस रामधुनी जनाएको छ ।
पत्रकार सम्मेलनमा उपस्थित थाकस सुनसरीका सभापति सगेन चौधरीले रामधुनीमा ४२ प्रतिशत थारु समुदायको जनसंख्या रहेको भन्दै थारु समुदायको संस्कृति, परम्परा र जीवनशैली संरक्षण गर्नु आवश्यक रहेको बताए । थारुको मौलिकता अन्य जातजातिले नजिकबाट बुझ्न र अनुभव गर्न महोत्सव उपयोगी हुने उनको भनाई छ । ‘थारु समुदायको संस्कृति, परम्परा र जीवनशैली हाम्रो समाजको समृद्ध सांस्कृतिक सम्पदा हो । थारुको मौलिकता अन्य जातजातिले नजिकबाट बुझ्न र अनुभव गर्न यो फुड फेस्टिबल तथा सांस्कृतिक महोत्सवले सहयोग गर्नेछ । यो महोत्सवले सामाजिक सद्भाव र संस्कृतिको आपसी आदानप्रदान गर्न मद्दत गर्छ जस्तो मलाई लाग्छ, ’उनले भने ।