इटहरी । बैंक तथा वित्तिय संस्थामा भइरहेको चर्को व्याजदर वृद्धिविरुद्ध इटहरीमा व्यवसायीले प्रदर्शन गरेका छन् ।
राष्ट्र बैँकले चर्को ब्याजदर वृद्वि गरेका कारण उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न वस्तुगत संस्थाहरूले बैँक तथा वित्तीय संस्था घेरेका हुन् ।
दर्जनौँको संख्यामा भेला भएका व्यवसायीहरूले बैँकको आतंक बन्द गर्न माग गर्दै आन्दोलन गरेका थिए । ‘पुरानो ब्याजदर कायम गर’, ‘बैँक माफिया मुर्दावाद’, ‘व्यवसायी एक हौँ’, जस्ता नारा लगाउँदै आन्दोलन गरेका थिए ।
इटहरीको राष्ट्रिय वाणिज्य बैँकसहित इटहरीका आधा दर्जन बढी बैँकमा उनीहरूले आन्दोलन गरेका थिए ।
उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेलले बैँक तथा वित्तीय संस्थाले व्यवसायीलाई चरम मारमा पर्नेगरी ब्याजदर वृद्वि गरेकाले तत्काल ब्याजदर फिर्ता लिन माग गरे ।
उनले भने, ‘कोरोना महामारीका समयमा ब्याज तिर्न नसक्दा बैँकले घरमै आएर लगानी गर्ने, अहिले जथाभावी रूपमा ब्याजदर वृद्वि गर्दा समस्या उत्पन्न भएको छ ।’
उनले राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीप्रति लक्षित गर्दै भने, ‘एम अधिकारी ज्यू, तपाईँका नेताले अह्राएको मात्रै नगर्नुहोस्, नेपाली जनता र व्यवसायीको हितमा काम गर्नुहोस् ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एम अधिकारीलाई प्रयोग गरेर राजनीतिकरण गरेको समेत पौडेलको आरोप छ ।
उद्योग वाणिज्य संघ इटहरीका महासचिव पीताम्बर पोखरेलले राष्ट्र बैँकले अहिले जारी गरेको ब्याजदर खारेज हुनुपर्ने र पुरानै ब्याजदर कायम हुनुपर्ने माग गरे । अर्थतन्त्र धराशयी अवस्थामा रहँदा व्यवसाय पनि ठप्प रहेकाले समस्या उत्पन्न भइरहेको पोखरेलले बताए ।
विरोध कार्यक्रमपछि कोणसभामा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली, रेडिमेड व्यवसायी संघ इटहरीका अध्यक्ष सीताराम सापकोटा, उवासंघका पूर्व महासचिव टंक खनाल, सुनचाँदी व्यवसायी संघ इटहरीका अध्यक्ष टीका लामगादे लगायतले बोल्दै राष्ट्र बैँकले लगाएका नयाँ नीति विरुद्व चर्को आवाज उठाउनुपर्ने बताएका थिए ।































Discussion about this post