रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ८ मा स्थानीय तह निर्वाचन २०७९ पछि हालसम्मको करिब तीन वर्षको अवधिमा भौतिक पूर्वाधारदेखि सामाजिक विकाससम्म उल्लेखनीय कामहरू भएका छन् । वडा कार्यालयका अनुसार संघीय, प्रदेश र स्थानीय सरकार तथा वडाको आफ्नै स्रोत तथा स्थानीयको सहभागितामा वडाभित्र विकासका कामहरूले तीव्रता पाएको हो ।
वडाले यो अवधिमा मात्रै ३ हजार २ सय ८० मिटर (३.२८ किलोमिटर) सडक कालोपत्रे गरेको छ । भौतिक पूर्वाधार विकासका अन्य काममा पनि उल्लेखनीय उपलब्धि हासिल भएको छ । सडक स्तरउन्नतिमा मात्र १ हजार १ सय मिटर काम भएको छ । साथै ४ सय मिटर सडक इन्टरलक गरिएको छ । सहरीकरणसँगै बढ्दै गएको बस्ती र जनसंख्यालाई लक्षित गर्दै ८ सय मिटर नाला निर्माण गरिएको छ । साथै सडकको संरक्षणका लागि ५ सय मिटर एजिङ समेत निर्माण गरिएको वडा अध्यक्ष सुरेन्द्र सिंह खवासले जानकारी दिए ।
वडा अध्यक्ष खवासका अनुसार संघीय सरकार, प्रदेश सरकार र रामधुनी नगरपालिकासँगको सहकार्यसँगै वडा कार्यालयको आफ्नै वडास्तरीय बजेटबाट पनि विकासका कामहरू अगाडि बढाइएका हुन् । विकासको काम जनताको आवश्यकता, माग र सुझावअनुसार प्राथमिकतामा राखेर गरिएको वडा कार्यालयको भनाई छ ।
वडाले स्वास्थ्य क्षेत्रमा पनि राम्रो काम गरेको छ । वडामा दुई तले आधुनिक स्वास्थ्य चौकी भवन निर्माण भइसकेको छ । कार्यालय परिषरमै स्तनपान कक्ष तथा शिशु आहार कक्षसमेत स्थापना गरिएको छ । जसले आमा र शिशु स्वास्थ्यमा प्रत्यक्ष लाभ पु¥याउने अपेक्षा गरिएको छ ।
त्यस्तै, वडाभित्र रहेका विभिन्न समुदायको पहिचान संरक्षण गर्ने उद्देश्यले वानडाँडामा रहेको प्याब्सन बस्ती नजिकै उराव जातिको संस्कृति झल्किने संग्राहालय निर्माण कार्य भइरहेको छ । त्यस्तै कृषि पेसामा आश्रित वडाबासीका लागि वडाले कृषि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । हालसम्म करिब १ हजार ५ सय मिटर कृषि सडक निर्माण गरिएको छ । यसले किसानलाई उत्पादन बजारसम्म लैजान सहज भएको छ ।
थारु समुदायको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्र ग्रामथानहरूको संरक्षण र मर्मतलाई पनि वडाले प्राथमिकता दिएको छ । सामाजिक सुरक्षामा पनि वडाले महत्वपूर्ण काम गरेको छ । वडाले विपन्न नागरिकहरूलाई स्वास्थ्य उपचार खर्च र मृत्यु भएपछि काजकिरियामा लाग्ने खर्चमा समेत राहत सहयोग प्रदान गर्दै आएको छ । यसले गरीब र विपन्न समुदायलाई थप आत्मबल मिलेको वडाबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य सरिता परियारले बताइन । जनताको प्रत्यक्ष सहभागितामा विकास प्रक्रिया अघि बढाउन टोल विकास संस्था गठन गरी ती संस्थालाई सक्रिय बनाइएको छ । वडाभित्र रहेका विभिन्न टोलमा ती संस्थामार्फत स्थानीय स्तरका विकास तथा सामाजिक कामहरू सञ्चालन भइरहेका छन् ।
विकासको मूल मन्त्र नै सहकार्य, संवाद र साझा प्रयास भएको अध्यक्ष खवासको बुझाई छ । उनका अनुसार स्थानीय राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, वडा भित्र रहेका जनप्रतिनिधि र कर्मचारी सबैको सुझाव र सहकार्यका कारण वडामा तीव्र गतिमा विकास सम्भव भएको हो । उनले भने, ‘जनताको चाहना र आवश्यकता बुझेर योजना निर्माण गरिएको छ । कुनै पनि योजना आफैंले मात्र बनाउन सकिँदैन । जनताको सरोकार, सुझाव र सहभागितामै वडाको समृद्धि सम्भव छ ।’
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)
































Discussion about this post