रामधुनी । रामधुनी नगरपालिकाले कृषि क्षेत्रमा आत्मनिर्भरता र उत्पादन वृद्धि गर्न ‘मेयर पकेट कृषि कार्यक्रम’ गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत किसानलाई प्रत्यक्ष आर्थिक अनुदान दिइँदै आएको छ ।
वडा नम्बर २ मा रहेको शिवनगर बहुउद्देश्यीय कृषि समूहलाई नगरपालिकामार्फत वार्षिक अनुदान दिइँदै आएको छ । स्थानीय तहको निर्वाचन २०७९ पछि नगरले पहिलो बर्ष ३ लाख र ४ लाख रुपैँया अनुदान दिँदै आएको छ । समूहमा आवद्ध १८ जना किसानहरुले सामूहिक रुपमा व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।
समूहका अध्यक्ष देवेन्द्र चौधरीका अनुसार कृषकहरुले आफ्नो व्यक्तिगत जग्गाका साथै भाडामा जमिन लिएर तरकारी उत्पादन गर्दै आएका छन् । समूहले मुख्यतः फूलकोपी, बन्दाकोपी, खोर्सानी, मूला, साग, टमाटर, भिण्डी र बैगुन लगायतका तरकारीको खेती गर्दै आएको छ । ‘नगरपालिकाको अनुदान सहयोगले हामीलाई मल, बिउ, औजार खरिददेखि सिँचाइको व्यवस्थासम्म सहज भएको छ । यसले उत्पादन वृद्धि मात्रै होइन, आम्दानी बढाएर परिवार धान्नमा ठुलो टेवा पुगेको छ,’ अध्यक्ष चौधरीले भने ।
नगर प्रमुख शंकरलाल चौधरीका अनुसार कृषिमा आत्मनिर्भरता र रोजगारी सिर्जना गर्ने उद्देश्यले मेयर पकेट कार्यक्रमलाई ल्याइएको हो । कृषक समूहले उत्पादन गरेको तरकारी स्थानीय बजारसँगै आसपासका नगर र जिल्लामासमेत आपूर्ति हुँदै आएको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post