रामधुनी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आर्थिक अनुशासनहीनता बढ्दै गएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार यस वर्ष मात्रै पालिकाको रु. १० करोड ९ लाख बेरुजु देखिएको हो ।
गाउँपालिकाको कुल १ अर्ब २७ करोड ९१ लाख ६५ हजारको लेखापरीक्षण गर्दा १० करोड ९ लाख बेरुजु भेटिएको हो । जसमा ४३ लाख ९५ हजार असुल गर्नुपर्ने, २ करोड २३ लाख ६२ हजार नियमित गर्नुपर्ने र ७ करोड ४२ लाख २७ हजार प्रमाण कागजात पेश नभएको शिर्षकमा रहेको छ । योसँगै देवानगञ्जको कुल अद्यावधिक बेरुजु ४० करोड ९४ लाख ४९ हजार पुगेको छ ।
प्रतिबेदनअनुसार गाउँपालिकाको आन्तरिक आय अत्यन्त कमजोर रहेको अवस्थामा पनि पदाधिकारीहरूको सेवा-सुविधामा मोटो रकम खर्च गरिएको छ । एकै बर्षमा पदाधिकारीहरूको सुविधामा मात्र ५७ लाख १२ हजार २४० खर्च भएको छ । यो रकम गाउँपालिकाको कुल आन्तरिक आय (रु. २ करोड ९० लाख १२ हजार १८१) को १९.६९ प्रतिशत हुन आउँछ । आन्तरिक स्रोतको ठूलो हिस्सा विकास निर्माणमा लगाउनुको साटो पदाधिकारीको सुविधामा खर्च गरिनुलाई महालेखाले प्रश्न उठाएको छ ।
त्यस्तै, पालिकाले सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै रु. १ करोड २१ लाख ४२ हजार ९५२ बराबरको मालसामान र निर्माण कार्य सोझै खरिद गरेको पाइएको छ । प्रतिस्पर्धा सीमित हुने गरी टुक्रा-टुक्रा पारेर गरिएका यस्ता खरिदलाई महालेखाले नियमसम्मत नभएको बताएको छ ।
महालेखाले पालिकाको आर्थिक प्रशासनमा देखिएका यस्ता गम्भीर त्रुटिहरूलाई औंल्याउँदै वित्तीय अनुशासन कायम गर्न र विकास बजेटको सही सदुपयोग गर्न सुझाव दिएको छ ।



































Discussion about this post