रामधुनी । रामधुनी नगरपालिकाले नगर प्रमुख शंकरलाल चौधरीमाथि लागेको आर्थिक अनियमितताको आरोपलाई ‘निराधार र भ्रामक’ भन्दै त्यसको खण्डन गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनलाई गलत ढङ्गले व्याख्या गरेर नगर प्रमुखको चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले नगरवासीलाई भ्रममा नपर्न आग्रह गरेको हो ।
नगर प्रमुखको सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगर प्रमुखले व्यक्तिगत प्रयोजनका लागि होटल र भ्रमण खर्च नगरपालिकाबाट भुक्तानी गराई अनियमितता गरेको भन्ने दाबीमा कुनै सत्यता नभएको विज्ञप्तिमा उल्लेख छ ।
नगर प्रमुखले गरेका भ्रमणहरू व्यक्तिगत कामका लागि नभई पालिकाको प्रतिनिधित्व गर्दै विभिन्न औपचारिक, धार्मिक, सांस्कृतिक र विकास निर्माणका कार्यका लागि गरिएको सचिवालयले जनाएको छ । मन्त्रालयहरूमा डेलिगेसन जाँदा वा अन्तर-नगरपालिका अवलोकन भ्रमणमा जाँदा हुने खर्चहरू स्वीकृत कार्यक्रम र बजेट अनुसार नै हुने र कतिपय अवस्थामा पेश्की लिएर पछि फछ्र्यौट गरिने प्रचलित कानुनी प्रक्रिया रहेको सचिवालयले स्पष्ट पारेको छ ।
विशेष गरी अयोध्या भ्रमणको विषयमा स्पष्ट पार्दै सचिवालयले रामधुनीको धार्मिक र पर्यटकीय विकासका लागि उक्त भ्रमण भएको जनाएको छ । सचिवालयले तथ्यहीन र एकपक्षीय समाचार सम्प्रेषण गरेर नगर प्रमुखको प्रतिष्ठामा आँच पुग्ने काम नगर्न सचेतसमेत गराएको छ ।
नगरपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनप्रति सदैव प्रतिबद्ध रहेको बताउँदै यस्ता भ्रामक कुराबाट टाढा रहन विज्ञप्तिमार्फत सचिवालयले नगरवासीमा अपिल गरेको छ ।
यस्तो छ विज्ञप्ति




































Discussion about this post