रामधुनी : सुनसरीको बराहक्षेत्र नगरपालिकाका बासिन्दाले विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराउँदा २० प्रतिशत छुट पाउने भएका छन् ।
नगरपालिका र अस्पताल प्रशासनबीच नगरवासीलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएपछि यो सुविधा लागू भएको हो। सम्झौताअनुसार साउन १ गतेदेखि लागू भएको यो सुविधा एक वर्षसम्म कायम रहनेछ ।
बराहक्षेत्रका नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार तथा नोबेल अस्पतालका महाप्रबन्धक दिपेश राई लगायतका पदाधिकारीको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
नगरपालिकाका अनुसार अस्पतालमा उपलब्ध अप्रेसन (शल्यक्रिया) सहितका प्रत्यक्ष स्वास्थ्य उपचार सेवासम्बन्धी शुल्कमा नगरवासीले २० प्रतिशत छुट पाउनेछन्।
नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम तथा विपन्न नागरिक औषधि उपचार कोषलगायतका सम्पूर्ण सरकारी सुविधाहरूको पूर्ण उपभोग गरिसकेपछि बाँकी रहने उपचार खर्चमा यो छुट लागू हुनेछ । साथै, स्वास्थ्य बीमामा आबद्ध नभएका वा बीमा गरेर पनि क्रियाशील भइनसकेका बिरामीहरूले पनि यो छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
बराहक्षेत्र नगर अस्पतालबाट थप उपचारका लागि सिफारिस भई आउने कोशी प्रदेशका अन्य बिरामीहरूलाई समेत अस्पतालमा जाँच गराएको कागजातका आधारमा यो सुविधा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।
नगर प्रमुख रमेश कार्कीले सामाजिक उत्तरदायित्व वहन गर्दै नगरवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा पु-याउने उद्देश्यले नोबेल अस्पतालसँग यो सम्झौता गरिएको बताए । आकस्मिक तथा थप जानकारीका लागि अस्पतालका सम्बन्धित अधिकारीहरूसँग सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ ।



































Discussion about this post