रामधुनी । पत्रकार सुबिन विश्वकर्मालाई समाचार लेखेकै बिषयमा घरमै गएर ज्यान मार्ने धम्की दिएकोप्रति प्रेस चौतारी सुनसरीले आपत्ति जनाएको छ ।
बुधबार प्रेस चौतारी नेपाल सुनसरी जिल्ला अध्यक्ष सुभद्रा प्याकुरेलले एक विज्ञप्ति जारी गर्दै बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीसँग सम्बन्धित समाचारको बिषयमा विश्वकर्माको घरमै गएर धम्की दिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘समाचारका बिषयमा चित्त नबुझे उजुरी गर्ने विभिन्न निकायहरु र प्रकृया हुँदाहुदै धाकधम्की दिने र अभिव्यक्ति स्वतन्त्रता दबाउन खोज्ने कार्य आपत्तीजनक छ ।’
पत्रकार महासंघ सुनसरी जिल्ला कार्य समितिका सदस्यसमेत रहेका हाम्रोशब्दकर्मी विश्वकर्मामाथि समाचार लेखेको बिषयलाई लिएर बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीका भाई पर्ने सुरज क्षेत्री लगायतले हात खुट्टा भाँचिदिने धम्की दिएका थिए ।
गत सोमबार मेयर कार्कीसँग सम्बन्धित ‘अपरिपक्व मेयर कार्की, जो आलोचना सहँदैनन्’ शिर्षकको समाचार हाम्रोशब्द डटकममा प्रकाशित भएको थियो । सोहि समाचारलाई लिएर पत्रकार विश्वकर्मामाथि धम्की आएको हो ।