रामधुनी । धरान उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष मनोज भट्टराईले मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघासहित २८ जना कार्यपालिका सदस्यहरू बिच द्विपक्षीय भिडन्त हुनसक्ने बताएका छन् । कार्यपालिका बैठकको बिषयलाई लिएर धरानमा मेयर र अन्य जनप्रतिनिधिबीच आरोप–प्रत्यारोप चलिरहेका बेला मंगलबार बेलुका अध्यक्ष भट्टराईले रेल्वे चौकमा जनता भेला गरेर यस्तो बताएका हुन् ।
अध्यक्ष भट्टराईले मेयर साम्पाङ विधि, नीति र पद्धतीमा नहिडेर तानाशाही नश्लीय र हिट्लर शैलीमा हिडेको आरोप लगाउदै त्यस्ता प्रवृत्तिलाई जनताले बिद्रोह गरेर परास्त गर्ने चेतावनीसमेत दिए । उनले भने, ‘अब ०८४ पर्खेर हुदैन, धेरै ढिला हुन्छ । जनस्तरमा विद्रोह हुनुपर्छ, हिटलरलाई परास्त गर्नुपर्छ । अबको स्थिति जे पनि हुनसक्छ, झडप पनि हुनसक्छ । त्यसको लागि तयार रहनुपर्छ । एक पटक झडप भएपछि हर्क साम्पाङले हैसियत थाहा पाउछन् ।’

विधिमा बैठक नबोलाई मेयरले एकलौटी बजेट बनाएमा दुई लाइन संघर्ष हुने र उपमेयरसहित अन्य २९ जनाले पनि एकलौटी बजेट बनाउने उनले बताए । उनले भने, ‘त्यो बेला २ महिना तलब खान नसक्ने परिस्थिति बन्नसक्छ । भोली मेयरका मान्छे १० जना यहाँ आउने परिस्थिति बन्छ, त्यो बेला तपाईहरु हजारौं आउनुहुनेछ, यही हामी प्रतिवाद गछौं । हामीमाथि र वडा कार्यालयमाथि धावा बोल्छ भने पक्कै चुप लागेर बस्नहुन्न । त्यसको तयारीमा अब जुट्नुपर्छ ।’
मेयर साम्पाङले आफ्ना मान्छेलाई कर्मचारी नियुक्त गर्न प्रमुख प्रशासकीय अधिकृतलाई दबाब दिने गरेकोसमेत भट्टराईको आरोप छ । ‘केही कर्मचारीहरू अवकाश पाए, त्यहाँ हर्क साम्पाङले आफ्ना मान्छे नियुक्ति गर्न दबाब दिए, जथाभाबी खर्च गरिएका बिल भौचर जर्बजस्ती पास गराउन खोज्दा प्रज्ञादेवी निरौला (प्रमुख प्रशासकीय) ले नमानेपछि काम गर्न दिएका छैनन् ।’
अध्यक्ष भट्टराईले नियम अनुसार प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिकाको बैठक बोलाउनुपर्नेमा मेयर आफैले बोलाएको बैठक वैधानिक नभएकोले आफुहरुले बहिस्कार गरेको स्पष्ट पारे । प्रमुख प्रशासकीय नभएपछि माइन्युटसमेत नहुने र निर्णय प्रमाणीकरण पनि नहुने भएकाले त्यस्तो नियमविपरीतको बैठक आवश्यक नरहेको उनले बताए । मेयर साम्पाङलाई वडाध्यक्षहरूले सधैँ साथ दिए पनि गलत प्रचारबाजी गरेर जनतामा भ्रम फैलाएको उनको भनाई छ । ‘कोकाहबाट पानी ल्याउँछु भन्दा हुन्छ भन्यौँ, साबुन फ्याक्ट्री, बेसार फ्याक्ट्री खोल्छु भन्दा हुन्छ भन्यौ ।’ उनले प्रश्न गरे, ‘हामीले उहाँलाई कहाँ अवरोध र असहयोग ग¥यौँ ?’

जनताको घरमा पिउने पानीको अभाव भइरहदा मेयर साम्पाङले नगरको बजेट खर्चेर गमलामा खोर्सानी रोप्ने र त्यहाँ ट्यांकरबाट पानी हाल्ने गरेको भन्दै उनले मेयरको आलोचना गरे । उनले भने, ‘खोर्सानी गमलामा रोपेको छ, जनतालाई घरमा पानी छैन, ट्यांकरमा लगेर पानी हालेको छ, त्यसको लागि आफ्ना मान्छे भर्ती गरेर कर्मचारीलाई तलब खुवाएको छ । आफन्त, शाखा सन्तनालाई जागिर दिएको छ । नगरपालिका हो कि साम्पाङ निवास हो ?’
धरानको बिकास फेसबुकमा मात्र भएकोले आम जनताले अनुभूति गर्न नपाएको भट्टराईको भनाई छ ।