रामधुनी । नेपाली कांग्रेस रामधुनी नगर कार्यसमितिका सभापति सुदीप अधिकारीले रामधुनी नगरपालिकाले राजनीतिक दलहरुलाई सूचना नदिएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
शनिबार झुम्कामा आयोजित ‘सुशासन, सूचनाको हक तथा रामधुनी स्थानीय सरकार सञ्चालनको गतिबिधि’ बिषयमा आयोजित छलफललाई सम्बोधन गर्दै सभापति अधिकारीले यस्तो बताएका हुन् । उनले भने, ‘हामी यहि रोकिनेवाला छैनौँ । रामधुनीमा स्थानीय सरकारले गरिरहेका गतिबिधिहरुलाई सच्याउँने र प्रत्येक्ष रुपले स्थानीय सरकार हामीसँग छ भन्ने कुरा आम नागरिकले अपनत्व गर्ने, विश्वसनीयता कायम गर्ने हिसाबमा हामी लागिपर्ने छौँ ।’
पटक–पटकका छलफलमा सूचना दिने कुरामा ‘हुन्छ’ भने पनि कुनै शक्तिको आडमा मेयर शंकरलाल चौधरीले आम नागरिक संघ–संस्था र ६ राजनीतिक दलहरुलाई ‘बायस’ गरेर गइरहेको सभापति अधिकारीको भनाई छ । चुस्त, दुरुस्त पालिका चलेको भए एक मिटेमा प्रिन्ट गरेर दिनुपर्ने सूचना ३/४ महिनासम्म नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालको नैतिकतामासमेत प्रश्न गरेका छन् । उनले भने, ‘कर्मचारीको तर्फबाट कार्यकारी प्रमुखको भूमिका जसले निर्वाह गरिरहनु भएकोछ, उहाँ कुन नैतिकताको आधारमा कार्यकारी प्रमुखको कुर्सीमा बसिरहनु भएकोछ ? यो निकै गम्भीर प्रश्न हो ? उहाँले कि नैतिकता बिर्सिनुभएको छ ?’
त्यस्तै, नेकपा एमाले रामधुनी नगर कमिटीले सूचनाको बिषयलाई लिएर जारी गरेको विज्ञप्तिमा आफुहरुको आपत्ति रहेको उनले बताए । नगरपालिका सच्चिएर अगाडि नबढे आफुहरु चुप लागेर नबस्ने अधिकारीको भनाई छ । ‘हामी कानुनी स्तरमा र पत्रकारमार्फत स्थानीय सरकारलाई घच्घच्याउने काम निरन्तर गर्छौँ ।’ उनले भने, ‘असार र साउन किसानहरु खेतीमा व्यस्त हुने भएकाले पत्रकारहरुसँग छलफल, कानुन विदहरुसँग छलफल, विभिन्न क्षेत्रका विज्ञहरुसँग स्थानीय सरकार सञ्चालनका बिषयमा छलफल गछौँ । आगामी भदौ १ गतेदेखि हामी जनस्तरमा, टोलटोलमा जान्छौँ ।’
कार्यक्रममा उपस्थित रामधुनी–१ का वडा अध्यक्ष महेश कुमार चौधरी र वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम चौधरीलेसमेत नगरपालिका गलत ढंगले अगाडि बढिरहेको बताए । त्यस्तै, कार्यक्रममा नेकपा माओवादी केन्द्र रामधुनी नगर अध्यक्ष बलराम चौलागाई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति डिल्ली गुरागाईँ, राप्रपाका अध्यक्ष मोहन अधिकारी, झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष नविन कुमार चौधरी लगायतले नगरपालिकाले सच्चिएर अगाडि बढनुपर्ने धारणा राखेका थिए ।