सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा ‘प्रथम रामधुनी मेयर कम भेट्रान नकाउट फुटबल प्रतियोगिता–२०८१’ आइतबार सुरु भएको छ । सोमबार दमक भेट्रान र पूर्वेली भेट्रान धरानबीच खेल भएको थियो । दमक भेट्रानसँग पूर्वेली भेट्रान धरान २–० ले पराजित भएको छ ।
दमकका लागि पुस्कर धिमालले खेलको २६ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो हाफको २८ औँ मिनेटमा सुन्दर नेपालले दोस्रो गोल गरेका थिए । जवाफमा पूर्वेलीले गोल फर्काउँन सकेन ।
जितसँगै दमक सेमी फाइनलमा प्रवेश गरेको छ । यसअघि आइतबारको खेल आयोजक रामधुनी भेट्रान र कमलामाई भेट्रान सिराहाबीच भएको थियो । कमलामाईलाई ६–० ले पराजित गर्दै रामधुनी सेमिफाइनमा प्रवेश गरिसकेको छ ।
खेलमा ८ ओटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टिमले नगद एक लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैँया प्राप्त गर्नेछ । आगामी आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा करिब ५ लाख लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।