सुनसरी । तत्कालीन माओवादी जनयुद्धका क्रममा घाइते भएका तत्कालीन माओवादी जनमुक्ति सेना कुमार पौडेल ‘ज्वाला’ घाइते जीवन बाँचिरहेका छन् । अहिले पनि उनको टाउकोभित्रै गोलीका छर्राहरू छन्, छर्राले बेलाबखत ज्वालाई पीडा पनि दिन्छ । कहिले उनको देब्रे कान टालिन्छ, कहिले रिंगटा लागेर ढल्छन् ।
२०४१ सालमा ओखलढुंगाको लिखु गाउँपालिकामा जन्मिएका ज्वाला २०५७ सालदेखि पुर्णकालीन भएर माओवादी युद्धमा होमिएका थिए । युद्धकालमा उनले धेरै ओटा भीडन्तमा भाग लिए । २०६२ साल बैसाख २६ गते सिराहाको बन्दीपुर भीडन्तमा सेनाको बमको छर्राले लागेर उनी ढले । बेलुका करिब १० बजेतिर भीडन्तमा ढलेको ज्वालाको अनुमान छ, तर उनी बिहान मात्रै होसमा आए । उनले त्यो रात सम्झिए, ‘सेनाको बंकर छेउमा लडेको रछु, साथीभाईले पनि छोडेर हिडेछन्, मरे–नमरेको एकिन नभएपछि सेनाले फेरि राती गोली थपेछ । म बिहान होसमा आएँ, जसोतसो गरेर साथीहरुसँग पुगेँ । संयोगले बाँचे । त्यसबेलादखि टाउकोमा गोलीका छर्राहरु छन् ।’
सारा सर्वहारा जनताको मुक्तिको सपना बाकेर ‘कि मृत्यु, कि मुक्ति’को संकल्पसहित युद्धमा होमिएका ज्वाला आज आफ्नै दैनिक जीवन शकसपूर्ण बनेकोमा दिक्दार छन् । घाइते शरीर लिएर उनी सुनसरीको रामधुनीमा जीवन धाँनिरहेका छन् । यहाँ उनको आफ्नो घर छैन, अर्काको पुरानो घरमा भाडा तिरेर बस्छन् ।
जनयुद्धमा नेताहरुले देखाएको मुक्तिको सपना, जनताको जीवन बदल्ने ती नेताहरुको संकल्प र अहिले देशमा चलिरहेको राजनीति देखेर ज्वाला दिक्छ हुन्छन्, छट्पटी हुन्छ उनलाई । बेलाबेला माओवादी नेताहरुले चाहेर पनि काम गर्न नसकेको ज्वालाले अनुमान गर्छन् । तर, हिजो जनयुद्ध हाक्ने नेताहरु प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य, राम बहादुर थापा ‘वादल’, विप्लब जस्ता नेताहरु मिलेर काम गर्नुको सट्टा आरोप–प्रत्यारोप गर्दै फरक फरक पार्टीमा हिडेको देख्दा ज्वालाको मन कुँडिन्छ, विक्षिप्त हुन्छन् उनी । उनी भन्छन्, ‘अरु त हाम्रा सत्रु भए, काम गर्न दिदैनन्, हिजो पनि नदिएर नै जंगल जानु परेको हो । तर हामीलाई मुक्तिको सपना देखाउने हाम्रै नेताहरु बाबुरामको आफ्नै पार्टी, वैद्यको आफ्नै, वादल एमालेतिर लागेका छन्, यिनीहरुलाई देख्दा विक्षिप्त हुन्छु, के गर्नू र !’
तलदेखि माथिसम्म पार्टीमा दलाल पूँजीपति हावी भए
आफुले ज्यान हत्केलामा राखेर युद्ध लडदै निर्माण गरेको पार्टीप्रति ज्वालालाई औधी प्रेम छ । जसले जताजता पार्टी फुटाए पनि आफुलाई प्रचण्डमाथि थोरै भए पनि भरोसा रहेको उनी सुनाउँछन् । मोवाइल, टिभीमा देखे पनि ज्वालाले प्रचण्डलाई नजिकबाट नदेखेको धेरै भयो । उनलाई भेटने, हेर्ने ज्वालाको इच्छा थियो । तर आफुलाई पार्टीका नेता कार्यकर्ताले खबर नगर्ने गरेको दुखेसो पोख्छन् उनी । ‘प्रचण्ड विराटनगर आउँछन्, अस्ति इटहरी पनि आएछन्, आउँनुभन्दा अगाडि थाहा पाइनँ, पछि पो थाहा भयो ।’ उनले भने, ‘अब पार्टीमा हाम्रो ठाउँ छैन, सबै दलाल पुँजीपतिको कब्जा छ ।’
ज्वालाले माओवादी केन्द्रीय सदस्य, प्रदेश र जिल्ला तहका नेताहरुको जीवनस्तर अस्वभाविक रुपमा फेरिएको नियालीरहेका छन् । ‘मुत्यु सँगै मुक्ति पनि सँगै भन्थे’ जनता कहाँ छन्, गरिब कहाँ छन् ! हेर्नू त माओवादीबाट संसद, मन्त्री भएकाहरु करोडपति भएका छन्, हिजो लडनेहरुको जीवन कहाँ छ ! सुनसरीकै ठुला नेताहरुको सम्पती हेर्नू त, नाम त किन लिनू र हैन !’
नयाँ संविधान बनेपछि सारा मान्छेको मुक्ति हुन्छ भन्ने थियो, तर खै कस्तो संविधान बन्यो !
२०५२ सालदेखि २०६२ सालसम्म जनयुद्ध चल्यो । १० वर्षे जनयुद्ध र जनआन्दोलनकै बलमा देशमा गणतन्त्र आयो । २०७२ साल असोज ३ गते अर्थात आजकै दिन संविधान सभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी गर्यो । जनयुद्ध सकिएको लामो समयपछि संविधान बन्यो । संविधान नबन्दासम्म ज्वालालाई लागेको थियो– संविधान बनेपछि हाम्रा दुखः अन्त्य हुन्छन् । तर ९ बर्ष भयो, ज्वालाको जीवनमा केहि परिवर्तन आएन । बरु दिनदिनै शरीर झन् कमजोर हुँदैछ । आमबाबुसमेत त्यागेर व्यक्तिगत जीवनलाई तिलाञ्जली दिदै भूमिगत भएका ज्वालालाई आफ्नै जीवन धाँन्न धौधौ छ । उनी सुदुर भबिष्य सम्झेर भावुक हुँदै भन्छन्, ‘अहिले उमेर छ, छर्राहरूसँग लडिरहेको छु, बुढेसकालमा कसरी जीवन कटला, शरीर कमजोर हुँदा घाउहरु झन् दुख्लान, उपचार गर्नुपर्यो भने पैसा कहाँबाट जुटाउने ! यो संविधान हाम्रो रगत, पशिनाले बनेको हो, यसका लागि हामी लडेका छौँ, तर हामीलाई राज्यले नै चिनेन । हामीसँगै सारा सर्वहारको मुक्ति हुन्छ भन्ने थियो, तर भएन । समाज हिजो जहाँ थियो, त्यहि छ जस्तो लाग्छ ।’

































Discussion about this post