रामधुनी । विद्यालय शिक्षा ऐनको शीघ्र जारी तथा विगतका सम्झौताको कार्यान्वयनको माग गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूका पक्षमा देशव्यापी रूपमा आन्दोलन चर्कदै गएको छ । शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलन अझ सशक्त बनाउने उद्देश्यसहित मंगलबार सुनसरीको रामधुनी नगरपालिकामा समेत नाराजुलुससहित कोणसभा गरिएको छ ।
शिक्षक महासंघ अन्तर्गतको आन्दोलन परिचान समिति सुनसरीको निर्देशनअनुसार मंगलबार बिहान ११ बजे रामधुनी नगरभित्रका विद्यालयका शिक्षकहरू नगरपालिकाको कार्यालय परिसरमा भेला भएका थिए । त्यहाँ आयोजित शिक्षकहरूको बैठकमा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले आन्दोलनका विषयमा धारणा राखेका थिए ।
बैठकमा रामधुनी–६ स्थित तेह्र बालबालिका स्मृति आधारभूत विद्यालय प्रधानाध्यापक सुनिल तिम्सिनाले अभिभावकहरूको तीव्र दवाबका कारण आफू विद्यालय बन्द राख्न नसक्ने स्थितिमा पुगेको बताएका थिए । ‘म आन्दोलनको पक्षमा छु, तर अभिभावकको दवाब अत्यधिक छ,’ उनले बैठकमा भने, ‘बुधबारदेखि विद्यालय खोल्नुपर्ने अवस्था आएको छ ।’
तर अन्य विद्यालयका प्रधानाध्यापकहरूले तिम्सिनाको भनाइप्रति तीव्र आपत्ति जनाएका थिए । उनीहरूले कुनै पनि हालतमा आन्दोलन सफल नभएसम्म विद्यालय नखोल्ने अडान राख्दै विद्यालय खुलाए सामूहिक रूपमा गएर ताला लगाइने चेतावनीसमेत दिएका थिए । यता, शिक्षकहरूको कोणसभा चलिरहेकै बेला तेह्र बालबालिका विद्यालयका अभिभावकहरूको एक समूह घटनास्थलमा पुगेको थियो । उनीहरूले विद्यालय अझै नखोलिएमा प्रतिवादमा उत्रिने चेतावनी दिएका थिए । एक अभिभावकले भने, ‘हाम्रो विद्यालयमा नेपाल सरकारको दरबन्दीमा एकजना मात्र शिक्षक छन्, बाँकी हामीले निजी स्रोतबाट तलब दिएर राखेका छौँ । हामीले लगानी गरेको खेर गइरहेको छ । बच्चाहरूको भविष्य गम्भीर संकटमा छ ।’
शिक्षकहरूले आन्दोलन कायम राख्ने स्पष्ट संकेत गरेपछि केही अभिभावकहरू आक्रोशित बने । तीमध्ये अर्का एकले भने, ‘बुधबारदेखि विद्यालय खुल्नेछ, शिक्षकहरूले अवरोध गरे सह्य हुनेछैन ।’ यसले अभिभावक र शिक्षकबीच झडपको स्थिति सिर्जना गरेको थियो । स्थिति चर्कन नदिन नगरपालिकाकी उपप्रमुख तारा थापा स्वयं उपस्थित भइ दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरिन् । उनले भनिन्, ‘नेपाल सरकार र शिक्षक महासंघबीच सहमति भएपछि समस्या समाधान हुने अपेक्षा छ । केही दिन प्रतीक्षा गर्नुहोस्, अहिलेलाई भिडन्त नगर्नुहोस् ।’ थापाको आग्रहपछि अभिभावकहरू घटनास्थलबाट फर्किए पनि उनीहरूले बुधबारदेखि विद्यालय सञ्चालन हुनुपर्ने अडान कायमै राखेका छन् ।
शिक्षक आन्दोलन परिचालन समिति रामधुनीका संयोजक यादबहादुर कार्कीले व्यक्तिगत स्वार्थका लागि नभई शिक्षकहरूको आन्दोलन शिक्षा क्षेत्रमा दीर्घकालीन समाधान खोज्न भएकाले अभिभावकहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले भने, ‘हामी पनि विद्यार्थीको भबिष्यप्रति चिन्तित छौँ । अभिभावकहरूको चासो स्वाभाविक हो, तर हाम्रो माग पूरा नभएसम्म हामी पछि हट्न सक्दैनौँ ।’
उपप्रमुख थापाले सबै पक्षलाई धैय गर्न आग्रह गरेकी छन् । उनले भनिन्, ‘शिक्षकको आन्दोलन दीर्घकालीन सुधारका लागि हो भन्ने हामी बुझ्छौँ । तर अभिभावकको चासो पनि गम्भीर र यथार्थपरक छ । अहिले सबै पक्षले धैर्य गर्नुको विकल्प छैन । हाम्रा बालबच्चाको भबिष्यप्रति हामी गम्भीर छौँ । केही दिनभित्र सहमति नभए, विकल्पको खोजी गर्न नगरपालिकाले पनि पहल गर्नेछ ।’