रामधुनी । रामधुनी नगरपालिका वडा नं. २ विकास निर्माणका कामसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय देखिएको छ । वडामा सडक विस्तारदेखि विपन्न समूहलाई लक्षित कार्यक्रमहरू धमाधम सञ्चालनमा छन् ।
पछिल्लो तीन बर्षमा वडामा पूर्व-पश्चिम राजमार्गदेखि पुरानो शिवनगरसम्म करिब १ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यसैगरी, पर्चागाछी–शिवनगर हुँदै पनालाल चौधरीको घरसम्म करिब डेढ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भएको छ । धमौरा, कुम्याही हुँदै रामधुनी मन्दिरतर्फ जाने प्रमुख बाटोमा पनि कालोपत्रे भएको वडा कार्यालयले जनाएको छ ।
साथै, तित्रीवनको मुस्लिम बस्तीमा इदगाह निर्माण, मस्जिद तथा मदरशामा आवश्यक सहयोग पुर्याएको छ । वडाले धार्मिक सहिष्णुता र सांस्कृतिक संरक्षणमासमेत हातेमालो गर्दै आएको छ । विकास निर्माण र समावेशी सेवा वडाको प्राथमिकता रहेको वडा अध्यक्ष राम नारायण चौधरीले बताए । उनले भने, ‘सडक, शिक्षा, कृषि र सामाजिक सुरक्षालाई हामी समान रुपमा अघि बढाउँदैछौं ।’
वडाले हरेक वर्ष जाडो मौसममा विपन्न जेष्ठ नागरिकलाई झुल, कम्बल वितरण गर्दै आएको छ । साथै, कृषिमा आत्मनिर्भरता र उत्पादकत्व बढाउन धान र मकैको बीउ वितरणजस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ ।
स्थानीय आवश्यकता, माग र स्रोतको समन्वय गर्दै योजनाहरु कार्यान्वयन भइरहेको वडा सचिव घनेन्द्र कोइरालाले बताए । रामधुनी–२ मा हाल सम्पन्न भएका यी कामहरू स्थानीय तहको सक्रियता र जनसहभागिताको प्रतिबिम्ब हो । वडाले आगामी दिनमा पनि सामाजिक सेवा र पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)
































Discussion about this post